प्लटिङका नाममा ठगी प्रयास, पीडित कारबाहीमा गएपछि बल्ल आधा पैसा पाए*

प्लटिङका नाममा ठगी प्रयास, पीडित कारबाहीमा गएपछि बल्ल आधा पैसा पाए*

दाङः घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी धनाकुमारी घिमिरेले आफ्नो नाममा रहेको ६ धुर जग्गा केही जग्गा व्यवसायीलाई जग्गा प्लटिङका लागि पास गरेर दिइन्।

घोराहीका प्रतिष्ठित जग्गा व्यवसायीहरूले सोही ठाउँकै भैसाहीको ८ बिघा जग्गामा गरेको प्लटिङमा घिमिरेले आफ्नो नाममा भएको सो जग्गा व्यवसायीहरूलाई गत असार ३१ गते दिएकी थिइन्। 

घोराही-१८ घर भई हाल घोराही-१५ बस्ने उपेन्द्र भनिने खेमराज शर्मा, घोराही-१७ भैसाहीकै दामोदर घिमिरे, सोही ठाउँकै हरिप्रसाद चौधरीले संयुक्त नाममा घिमिरेको जग्गा पास गरेर लिए। 

थोरै जग्गा कित्ताकाट गरेर उनीहरूले सोही ठाउँका चुल्लुराम चौधरीको नाममा पास गर्न लगाए। प्लटिङपछि गाउँले जग्गाधनीहरूलाई ६० प्रतिशत जग्गा र बाँकी ४० प्रतिशत व्यवसायीले सुविधा पुर्याउने नाममा लिए।

उनीहरूले ७ मिटरको पिच बाटो, पक्की नाला, बिजुलीको तार पोलसमेत सुविधासम्पन्न घडेरी बनाएर दिने कागज गरे। तर, घिमिरेको सन्दर्भमा शतप्रतिशत ६ धुर (१०१.५८ वर्गमिटर) को  सट्टामा १२ हात मोहडा, ४० हात पिछवाड भएको तयारी घडेरी दिने भन्ने सम्झौता गरे। उक्त सम्झौता त्यही जग्गा व्यवसायी समूहका घोराही-१७ कै पदमबहादुर घर्तीसँग भएको थियो।

तर, उक्त जग्गा व्यवसायी समूहले झुक्याएर पीडित धनालाई हरिद्वार-९ कित्ता नम्बर ७५२ बाट ४.५० वर्गमिटर र कित्ता नम्बर ७६५ बाट ९.२५ वर्गमिटर गरी जम्मा १३.७५ वर्गमिटर  मात्र (एक धुर पनि नपुगेको)  जग्गा उपलब्ध गराएका थिए।

पीडित घिमिरेले झण्डै १० महिनापछि जग्गा बिक्री गर्न मालपोत गएका बेला आफू ठगिएको चाल पाइन्।

घिमिरेले ठग्ने ती जग्गा व्यवसायीहरूलाई आफ्नो गुनासो पनि सुनाइन्स।सम्झौताबमोजिम जग्गा प्राप्तिका लागि उनी १ महिना रोइन्, कराइन्। तर, कसैले सुनेनन्।

पछि बाध्य भएपछि घिमिरेले ती जग्गा व्यवसायीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिन गइन्। 

प्रहरीले शर्मा, चौधरी, घर्तीलाई बोलाएर सोधपुछ गर्यो। ती तीनै जनाले आफ्नो गल्ती स्विकार गरे। र, क्षतिपूर्तिबापत धनालाई जग्गाको मूल्यको दोब्बर रकम १८ लाख दिने सहमति गरे।

र, पहिलो किस्तास्वरुप घिमिरेलाई ९ लाख दिए भने बाँकी ९ लाख आगामी असोजभित्र उपलब्ध गराउने सहमति जनाए।

धनाले उकेरासँग अहिले सहमति भएर आधा पेैसा दिएको र आधा पैसा असोजमा दिनेे सहमति भएको बताइन्।*

जग्गा कारोबारी खेम, हरि र दामोदरले विज्ञप्ती निकालेर लेनदेनको विषय भएको र ठगी नगरेको दावी गरेका छन्।*

 संशोधन : * दुबै पक्षविच सहमती भएको खुलेकाले यस अगाडि प्रकाशित समाचारमा उल्लेख गरिएको फरार शब्द हटाउँदै हेडलाइन र समाचार पुनर्लेखन गरिएको छ।

२५ जेठ, २०८०, २१:४१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।