खुला ब्याडमिन्टनको उपाधि एपीएफका प्रिन्स दाहाललाई
काठमाडौं : ‘१६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता–२०८०’ को पुरुष एकलतर्फको उपाधि नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले जितेका छन्।
बिहीबार भएको फाइनलमा प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–११ र २१–११ ले पराजित गरी उपाधि जितेका हुन्।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित प्रतियोगिताको समापन समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विजयी खेलाडीहरूलाई शिल्ड, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिता सञ्चालनमा सहयोग पुर्याउने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरूलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरे।
यसैगरी बिहीबार भएको महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवकी रसिला महर्जनले नेपाल एपीएफ क्लबकी जेसिका गुरुङ्गलाई २१–१९, १५–२१ र २१–१७ ले पराजित गरी उपाधि हात पारिन्।
१९ वर्षमुनिका पुरुषअन्तर्गत नेपाल एपीएफ क्लबका क्षितिज खनालले एपीएफ क्लबकै रोशन साउदलाई १३–२१, २१–१७, २१–१८ ले पराजित गरी उपाधि जिते।
अन्डर टुभेल ब्वाईज अन्तर्गतको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबका रीजन मगरले त्रिभुवन आर्मी क्लबकै सुदेश राजकोटीलाई २४–२२, २१–१८ ले पराजित गरे।
यसैगरी मेन्स डबलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र विजित थापा मगरले नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवाललाई २१–१८, २१–१३ ले पराजित गरी उपाधि हात पारे।
वुमेन्स डबलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका रशीला महर्जन र अनुमाया राईले नेपाल एपीएफ क्लबका जेशीका गुरुङ्ग र सुनैना मुखियालाई २१–१६, २१–१२ ले पराजित गरे।
मिक्स डबलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र जेसिका गुरुङले नेपाल एपीएफ क्लबकै विजीत थापा मगर र शोभा गौचनलाई २३–२१, २२–२० ले पराजित गरी फाइनल खेल जित्न सफल भए।
यसैगरी ५५ वर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धि चौधरी र धादिङ्गका बिष्णुलाल श्रेष्ठले बैतडीका पूर्ण चन्द्र जोशी र किर्तिपुरका राजु महर्जनलाई २३–२१, २२–२० ले पराजित गरी उपाधि जिते।
४५ वर्षमाथिका भेट्रान्सतर्फका खेलमा नेपाल एपीएफ क्लबका सञ्जय कपाली र अनिल थाम्सुङ्ले कास्की पोखराका विशाल हिराचन र शम्भु कुमार श्रेष्ठलाई २१–१३, २२–२० ले पराजित गरे।
ईन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत)तर्फको खेलमा नेपाल टेलिकमका सोभाखर भण्डारी र हरिकृष्ण शर्माले नेपाल एपीएफ क्लबका धिरेन्द्र चन्द र सुधिर सुवेदीलाई २२–२०, २१–१२ ले पराजित गर्दै उपाधि जिते।
नेपाल एपीएफ क्लबको आयोजनामा उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा जेठ २१ गतेदेखि सञ्चालन भएको हो।
जेठ २५, २०८० बिहीबार १९:११:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।