सरकारले नै एमालेमाथि आक्रमण गराएको ओलीको आरोप

सरकारले नै एमालेमाथि आक्रमण गराएको ओलीको आरोप

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला हुँदा पनि सरकारले कुनै कदम नचालेको आरोप लगाए।

‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ। सरकार केही गर्दैन,’ ओलीले भने, ‘प्रहरीलाई टाउको फुटे पनि केही नगर्नु भनेको छ। अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित अपराधिक घटनाहरु भइरहेका छन्।’

अध्यक्ष ओलीले पहिचानवादीका नाममा सत्तापक्षले नै अपराधिक घटनालाई बढवा दिएको आरोप लगाउँदै अब एमाले प्रतिवादमा उत्रिने चेतावनी दिए।

ओलीले भने, ‘कहिले बन्द भनेको छ, कहिले तोडफोड, अनेक छ। आजमात्रै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजियो। भनेपछि कहाँसम्मको हत्या प्रयास भइरहेको छ पहिचानका नाममा। यसमा हाम्रो पार्टी डराउँदैन, झुक्दैन।’

कोशी प्रदेशमा पहिचानका नाममा दंगाफसाद गराउने कार्यमा प्रधानमन्त्री पुष्पकमल दाहालकै प्रत्यक्ष संलग्नता देखिएको उनको आरोप छ। कोशी प्रदेशसँग असन्तुष्ट पक्षलाई उचालेर प्रधानमन्त्री दाहालले विषको आगो देशभर फैलाउन खोजेको ओलीको टिप्पणी छ।

उनले भने, ‘विषको आगो फैल्याउन प्रचण्डले खोजेको हो, पहिचानको राजनीति ल्याउन र जात-जातका राज्य ल्याउने कोशिष गरेको हो। प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता देखियो।’

जेठ २५, २०८० बिहीबार १७:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।