सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन सद्भावलाई दुई स्ट्रोकको अग्रता
काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्यले दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थान हासिल गरेका छन्।
बिहीबार अन्तिम १८ होलको खेल बाकी छँदा सद्भावले एकल अग्रता बनाउन सफल भएका हुन्। सद्भावले तेस्रो दिन पनि ७-अन्डर ६५ को उत्कृष्ट स्कोर निकाल्दा समग्रमा १६-अन्डर २०० को सानदार स्कोर बनाउँदै शीर्ष कायम गरेका हुन्।
यस्तै नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङलाई दुई स्ट्रोकले पछि पारे। दोस्रो दिनका संयुक्त लिडर सुवास ५-अन्डर ६७ खेल्दै समग्रमा १४-अन्डर २ सय २ को स्कोरमा दोस्रो स्थानमा हात पारे।
प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेल बाँकी छँदा दाबेदारी प्रस्तुत गरेका छन्। डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्रबहादुर राईले तेस्रो दिन १-अन्डर ७१ को स्कोर गरे।
समग्रमा ७-अन्डर २ सय ९ सहित उनी चौथो स्थानमा छन्। शुक्र लिडर सद्भावभन्दा नौ स्ट्रोकले पछि परिसकेका छन्।
समग्रमा ५-अन्डर २११ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटीले संयुक्त रुपमा पाँचौ स्थान बाँडे। बिहीबार दिनेशले ४-अन्डर ६८ र भुवनले १-अन्डर ७१ मा खेल सकाए।
पूर्णप्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २-अन्डर २ सय १४ सहित संयुक्त रुपमा आठौं स्थान बाँडे। पूर्णले ६-अन्डर ६६ र शिवरामले १-ओभर ७३ मा तेस्रो दिनको खेल सके। ३-ओभर ७५ को स्कोर निकालेका तोरण विक्रम शाही समग्रमा १-अन्डर २१५ सहित १०औं स्थानमा छन्।
एमेच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा छन्। बिहीबार दुई ओभर ७४ खेलेका उनले समग्रमा ३-ओभर २१९ स्कोर बनाए।
युवा गल्फर सद्भावले लगातार दोस्रो दिन ७-अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। सुवासले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाउने क्रममा पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा एक/एक सट बचाए।
छैटौं होलमा बोगी प्रहार गरे। ब्याक नाइन भने १-अन्डर ३५ मा पूरा गरे। १२औं, १६औं र १८औं होलमा बर्डी प्रहार गरे पनि १०औं र १४औं होलमा एक/एक सट खेर फाले। नीरजले फ्रन्ट नाइनमा आज पनि उत्कृष्ट प्रदर्शन गरे।
शुक्रले फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन इभन-पार ३६ मा सकाए। उनले पहिलो, चौथो, नवौं, १५औं र १७ औं होलमा एक/एक सट बचाए। सातौं, आठौं, ११औं र १३औं होलमा बोगी खेपे।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ।
जेठ २५, २०८० बिहीबार १७:५०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।