भैँसी र रागाँको कुरा गरेर पाउने भनेको गोबर मात्रै हो : रवि लामिछाने

भैँसी र रागाँको कुरा गरेर पाउने भनेको गोबर मात्रै हो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको मर्यादा कायम राख्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद्समेत रहेका सभापति लामिछानेले संसदको मर्यादा ख्याल गर्दै भैँसी र राँगाको बहसबाट जनजीविकाको कुरामा जोड दिनुपर्ने बताए।

केही दिनदेखि संसदमा भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगाको बारेमा कुरा भइरहेको थियो। उनले त्यस विषयमा आफ्नो पार्टीबाट पनि कमजोरी भएको महसुस गर्दै क्षमासमेत मागेका छन्।

‘हामीले संसदको मर्यादा कायम गर्न कहिँकतै चुकिरहेका त छैनौं,’ उनले भने, ‘चाहे हाम्रो राजनीतिक दलबाट आएको हुन् वा अन्य राजनीतिक दलबाट आएको होस्, हामी लज्जित भएका छौं।’

उनले अगाडि भने, ‘यदि भैँसी र राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौं। हामी आत्मालोचना गर्न चाहन्छौं। आफ्नो राजनीतिक दलबाट गत केही दिनमा भएका बहसहरु अमर्यादित भएकोमा क्षमायाचना पनि गर्न चाहन्छु।’

फरक विषयमा उनले नागरिकता विधेयकमा आफूहरुको विरोध नभएर प्रमणीकरणका प्रक्रियामा मात्रै आपत्ति भएको स्पष्ट पारे।

‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ। साँच्चै नै छ।’, लामिछानेले भने, ‘विधेयक संसदमा आएको भए हामी छलफल गर्थ्यौं। स्वामित्व लिन्थ्यौँ। तर जसरी जुन बाटोबाट प्रमाणीकरण भयो आपत्ति त्यत्तिमा हो।’

विधेयक सदनमा पेश भएको भए को के कुराको पक्षमा थियो भन्ने खुलस्त हुने भन्दै उनले कुनै पनि नेपाली नागरिक नागरिकताबाट बन्चित हुनुहुँदैन भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए।

‘नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको छ,’ लामिछानेले भने, ‘एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको विषय स्वघोषणा गर्नुपर्ने विषय आमा दिदिबहिनीको आत्मसम्मान विपरीत छैन योरु हामीले यस्ता प्रश्नमा सोचौं भनेको हो।’

जेठ २५, २०८० बिहीबार १४:४१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।