कुनै नागरिकले नागरिकता नपाउनुको पीडा मलाई साँच्चै नै थाहा‍ छ : रवि लामिछाने

कुनै नागरिकले नागरिकता नपाउनुको पीडा मलाई साँच्चै नै थाहा‍ छ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै पनि नागरिकले नागरिकता नपाउनुको पीडा कति हुन्छ भनेर आफूलाई साँच्चै नै थाहा भएको बताएका छन्।

बिहीबार संसद्मा बजेटमाथिको छलफलमा बोल्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा गलत प्रक्रिया अपनाएको बताए। 

‘कुनै नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ, साँच्चै नै थाहा छ। कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन हुँदैन,’ उनले भने, ‘जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईंको जति नै सुनिश्चित छ र हुनुपर्छ।’

उनले आफूहरू नागरिकता विधेयकको विपक्षमा नरहेको तर  प्रमाणीकरणमा  गलत तरिका अपनाएकोले विरोध गरेको बताए।

‘विधेयक संसद्मा आएको भए हामी छलफल गर्थ्यौं, स्वामित्व लिन्थ्यौं। तर जुन बाटोबाट प्रमाणीकरण भयो, हाम्रो विपत्ति यत्तिमा हो। सदनमा आएर छलफल भएको भए त्यहाँ भएको विभेदका विषयमा हामी कुराकानी गर्थ्यौं। गलत बाटोबाट गएको हुनाले मात्र विरोध गरेका हौं,’ उनले भने।

उनले नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको समेत बताए।

जेठ २५, २०८० बिहीबार १३:४५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।