सूर्य नेपाल प्रिमियर गल्फ : सदभाव र सुबाशको अग्रता
काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमच्योर खेलाडी सदभाव आचार्य र सुबाश तामाङ संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्।
गोकर्ण गल्फ क्लबमा सदभाव र सुबाशले ३६ होलको समाप्तीमा समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्र बहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन्।
गोकर्ण गल्फ क्लबमा राष्ट्रिय टिमका खेलाडी सदभाव ७-अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्षस्थानमा उक्लिए। सुबाशले भने इभन-पार ७२ मा दोस्रो दिनको खेल सकाउँदा शीर्षस्थान बाँडे।
दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा नीरज तामाङले ८-अन्डर ६४ को स्कोर बनाए। यो स्कोरमा नीरज र डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। शुक्रले ५-अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए। दुवैले समग्रमा ६-अन्डर १ सय ३८ स्कोर गरे।
४-अन्डर १ सय ४० सहित भुवन नगरकोटी र तोरण विक्रम शाही संयुक्तरुपमा पाँचौ स्थानमा छन्। भुवनले ४-अन्डर ६८ र तोरणले इभन-पार ७२ स्कोर गरे।
३६ होलको समाप्तीमा ७-ओभर १ सय ५१ स्कोर गर्ने २३ प्रोफेसनल गल्फर र ६ एमेच्योर गरी २९ खेलाडीले कट बनाएका छन्।
प्रोफेसनलतर्फ रबि खड्का, राजेन्द्र थापा मगर, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, भुवन कुमार रोक्का, धन बहादुर थापा, दल बहादुर गुरुङ, रामे मगर, पूर्ण प्रसाद शर्मा, भुबहादुर गुरुङ, टासी घले, दीपक मगर, टंक बहादुर कार्की, दीपक न्यौपाने र बलभद्र राईले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे।
एमरच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा छन्। उनले २-अन्डर ७० सहित समग्रमा १ सय ४४ स्कोर गरेका छन्। यसैगरी वाङचेन ढोन्डुप, भरत थापा मगर र प्रज्वल गुरूङ सहित ६ एमरच्योर खेलाडीले पनि कट बनाए।
जेठ २५, २०८० बिहीबार ०९:२८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।