महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम बैंकलाई
काठमाडौं : महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो।
फाइनल खेलमा टस हारेर ब्यटिङको निम्तो पाएको प्राइम बैंकले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ८७ रन बनाएको थियो। प्राइमका लागि कितार्थ शाक्यले सर्वाधिक २४ रन बनाए। बलिङतर्फ माछापुच्छ्रेका विश्वास ढकालले १४ रन खर्चिंदै २ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा आएको माछापुच्छ्रे बैंकले जम्मा ४७ रन बनायो। माछापुच्छ्रेका लागि रोशन पाठकले सर्वाधिक ११ रन बनाएका थिए। बलिङतर्फ प्राइमका सुनिल खड्का र कमलेन्द्र श्रेष्ठले समान २/२ विकेट लिए।
यसअघि प्राइम कमर्सियल र एनआइसी एसिया तथा महालक्ष्मी विकास र माछापुच्छ्रे बैंकबीच सेमिफाइनल खेल भएको थियो। पहिलो सेमिफाइनलमा प्राइम बैंकले एनआइसी एसिया बैंकलाई ३१ रनले हराएको थियो।
महालक्ष्मी विकास बैंक र माछापुच्छ्रे बैंकबीच सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माछापुच्छ्रेले ५ विकेटको जित निकालेको थियो।
१६ टिम सहभागी प्रतियोगितामा प्राइम बैंकका क्रितार्थ शाक्य महालक्ष्मी कर्पोरेट क्रिकेट लिगकै सर्वोकृष्ट खेलाडी चुनिए।
जेठ २५, २०८० बिहीबार ०९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।