बार्सिलोना होइन, अमेरिकन क्लब इन्टर मियमी जाने भए मेस्सी
एजेन्सी : अर्जेन्टिनाका कप्तान तथा विश्व स्टार खेलाडी लिओनेल मेस्सी अन्ततः अमेरिकी क्लब इन्टर मियमी जाने भएका छन्। अब मेस्सीले पहिलो पटक युरोप बाहिर लिग खेल्ने छन्।
फ्रेन्च लिग च्याम्पियन पीएसजी छोड्ने घोषणा गरिसकेका मेस्सीले अमेरिकन मेजर लिग क्लब इन्टर मियमीबाट खेल्ने निर्णय गरेका हुन्। बार्सिलोनाले उनलाई भित्र्याउन चाहे पनि आर्थिक सीमितताको नियमका कारण सम्भव भएन।
‘मैले मियामी जाने निर्णय गरेको छु, अब युरोप छाड्ने विचार गरें,’ उनले भने, ‘युरोपका अन्य क्लबबाट प्रस्ताव नआएका होइनन्, तर युरोपमा खेल्ने भए बार्सिलोना मात्र मेरो रोजाइ थियो।’
‘विश्वकप जितिसकेपछि फेरि बार्सिलोना नै फर्कने प्रक्रिया मिलेन, अब मियमीमा फरक शैलीको फुटबलसँगै मेरो दैनिक जीवनको मजा लिने समय हो,’ उनले थपे।
पीएसजी छोड्ने घोषणासँगै उनलाई साउदी क्लब अल हिलालले टिममा भित्र्याउन ठूलो प्रस्ताव राखेको थियो। त्यसैगरी उनी पूर्व क्लब बार्सिलोना नै फर्कने सम्भावना पनि बढेको थियो।
मियमीबाट पनि उनलाई राम्रो प्रस्ताव आएको र मेस्सीले युरोप बाहिर खेल्ने निर्णय गरेका हुन्।
२१ वर्ष बार्सिलोनामा बसेर सन् २०२१ मा उनी पीएसजी गएका थिए।
जेठ २५, २०८० बिहीबार ०७:५६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।