एमालेमै फर्किने घोषणा गरेका वामदेवलाई ओलीले बोलाए

एमालेमै फर्किने घोषणा गरेका वामदेवलाई ओलीले बोलाए

काठमाडौँः नेकपा एमाले अध्यक्ष केपी ओलीले वामदेव गौतम एमालेमै रहेका बताएका छन्। 

बुधबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा ओलीले वामदेव गौतमबारे खुलाएका हुन्। 

पत्रकारले ७० बर्से उमेर हद हटाए गौतम एमाले आउने हो भन्दै प्रश्न गरेका थिए। जवाफमा ओलीले 'यो विषयमा थप केही कुरा छ र !  भन्ने प्रतिक्रिया दिएका हुन्। 

गौतमले पार्टी एकता अभियान चलाए पनि नयाँ पार्टी नबनाएको ओलीको भनाइ थियो। उनले भने, ‘उहाँले सदस्यता त्यहीँ छ भन्नुभयो‚ होइन ? अब कुरा केही कुरा बाँकी छ ? उहाँले बीचमा पार्टी होइन एउटा मञ्च बनाउनुभयो। एकता अभियान चलाउनुभयो। त्यो पार्टी खोलेको होइन। एमालेमा जान्छु भन्नुभएको छ। त्यो ठीक छ। उहाँको पार्टी सदस्यता एमालेमै छ।’

बुधबार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा गौतमले ७० वर्षे उमेर हद हटाए एमाले फर्किन तयार रहेको बताएका थिए।  

‘उमेर हद हटाइएको यही अवस्थामा हामी एमालेमा जान्छौँ, म मेरा साथीहरूसहित एमालेमा फर्किन्छु’, उनले भने, ‘उहाँहरूले (ओली) मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनुभएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नुभएको होइन होला, राख्नुभयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’ 

एमालेले पार्टीको कार्यकारी पदमा रहने ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको थियो। एमालेको उक्त निर्णयपछि गौतमले पनि आफूले बनाएको पार्टी भन्दै माया लाग्ने प्रतिक्रिया दिएका थिए। 

तर एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरेका थिए।

आफ्नो प्रस्ताव उमेर हद हट्नैपर्छ भन्ने भएको र उमेर हदका आधारमा कसैलाई विभेद गर्न नपाइने पनि गौतमले बताएका थिए। उनले भने, ‘यदि मलाई तपाईं पनि आउनुस्, बाटो खुल्यो भनेछन् भने म एमालेमा फर्किन्छु।’ 

गौतमले आफूसँग एमाले नरहे पनि सदस्यता भने यथावत् रहेको बताएका थिए। 

जेठ २४, २०८० बुधबार १८:४९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।