सांसदको प्रस्तावः प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ
काठमाडौँः सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उनले प्रतिनिधिसभाको आकार घटाउन संविधान संशोधनको प्रस्ताव ल्याउन आग्रह गरे।
उनले आगामी आर्थिक वर्षको बजेट केन्द्रीकृत सोच र मानसिकताबाट पछाडि हट्न नसकेको बताए। अधिकांश मन्त्रालयले राखेका कार्यक्रम र बजेटलाई राष्ट्रपति र प्रधानमन्त्रीसँग जोडिएका कार्यक्रमले रोकेको उनको भनाइ थियो।
सार्वजनिक खर्च पुनरवलोकन आयोगले सिफारिस गरेका कार्यालयलाई खारेज गर्नेलगायत विषय सकारात्मक रहेको उल्लेख गर्दै उनले प्रदेश र स्थानीय तहलाई गर्नुपर्ने वित्तीय हस्तान्तरणलगायत विषयमा सरकार प्रभावकारी हुन नसकेको पनि बताए।
संघीय सरकारले आफूलाई मालिक सम्झने प्रवृत्तिले वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसक्ने सांसद देवकोटाको भनाइ थियो।
निर्वाचन क्षेत्र पूर्वाधार कार्याक्रम मसानघाटमा पुगिसकेको भए पनि त्यसलाई ब्युँताउन सत्तापक्ष र प्रतिपक्ष नै लागेकामा उनले आपत्ति प्रकट गरे।
जेठ २४, २०८० बुधबार १८:०४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।