लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, 'अब कोही पनि भूमि अधिकारबाट वञ्चित हुनुपर्दैन'

लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, 'अब कोही पनि भूमि अधिकारबाट वञ्चित हुनुपर्दैन'

इलामः सरकारले भूमिहीन दलित तथा सुकुमबासीलाई जग्गाधनी लालपुर्जा वितरण थालेको छ।

बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले इलाम र झापाका ५४ सुकुमबासी परिवारलाई जग्गाधनी लालपुर्जा प्रदान गरेकी हुन्। झापाको कन्काई नगरपालिकाका २९ र इलाम चुलाचुली गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन्।

‘यो देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुमबासीहरू हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ। आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभर भूमिहीनलाई जमिन उपलब्ध गराउन स्पिडमा काम भइरहेको छ।'

उनले यो अभियान देशभर चुस्तदुरुस्त जाने पनि बताइन्। 

भूमिहीन दलित सुकुमबासीलाई भूमिमाथिको पहुँच पुर्याउने उद्देश्यले तीनै तहका सरकारको साझा कार्यक्रमका रूपमा बढाइएको पनि उनले बताइन्।

'अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनुपर्दैन,' मन्त्री श्रेष्ठले भनिन्। उनले आफ्नो कार्यकालभित्रै भूमिहीनहरूको समस्या समाधान गर्नेगरी काम गरिरहेको पनि दाबी गरिन्। 

जेठ २४, २०८० बुधबार १७:५६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।