म्याद नाघेका बड्वाइजर बियर खुलेआम बिक्रीः न समातिन्छन् कम्पनी, न हुन्छ जरिवाना

म्याद नाघेका बड्वाइजर बियर खुलेआम बिक्रीः न समातिन्छन् कम्पनी, न हुन्छ जरिवाना

मानव स्वास्थ्यका लागि कुनै पनि मदिराजन्य पेय पदार्थ कुनै पनि कोणबाट फाइदाजनक मानिँदैन। त्यसमा पनि म्याद गुज्रिएका यस्ता पेय पदार्थ सीधै मानिसको शरीरमा प्रवेश गर्दा के होला ? 

केही समययता यस्ता म्याद गुज्रिएका पेय पदार्थ बिक्री वितरण भइरहेको समाचारहरू आइरहेका छन्। 

बजारमा नक्कली र म्याद गुज्रिएका मदिरा छ्यापछ्याप्ती भेटिन थालेका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आक्कलझुक्कल यस्ता पेय पदार्थ बिक्री वितरण नगर्न सचेत गराउने गरेको छ। बेला-बेलामा कारबाही गरे पनि बिक्री हुन भने रोकिएको छैन। 

काठमाडौँको नारायण चौरमा रहेको चिनिया रेष्टुरेेन्ट हाउ पिनमा म्याद सकिएको बियर फेला परेको थियो। हिजो (मंगलबार) भेटिएको उक्त म्याद नाघेको बियर बड्वाइजर नामक थियो। 

रेष्टुरेन्टले मंगलबारै आएको र म्याद भएको दाबी गरे पनि बियरको सिसीमा भने म्याद गुज्रिसकेको भेटिएको थियो। उनीहरूको दाबी अनुसार मंगलबारै बियर आएको देखिएको थियो। तर बियरको कार्टुनमा आधा म्याद बाँकी भएको र आधा म्याद सकिएको बडवाइजर बियर थिए।

ग्राहकले म्याद गुज्रिएको बियरबारे गुनासो गरेपछि उनीहरूले छुट्टयाएको दाबी गरेका थिए। तर पछि पुनः म्याद सकिएकै बियर आएको थियो। 

पछिल्लो समय बहुराष्ट्रिय ब्रान्डको म्याद नाघेको ‘बड्वाइजर’ बियर छरपस्ट भेटिन थालेको छ। जावलाखेल डिस्टिलरीले बजारमा ल्याएको यो बियरको ब्याच नम्बर ६००५२ ई, ६०६६ F लगायत ब्याचको उत्पादन मिति सकिए पनि देशभर बिक्री वितरण भइरहेको पाइएको छ। 

गएको वैशाख अन्तिममा पनि पोखरा नजिकैको कार्की डाँडामा कास्की जिल्ला बार एसोसिएसन र उच्च अदालत बार एसोसियसनका वकिलहरूले सामूहिक पिकनिक कार्यक्रममा यही बड्वाइजर बियर लगेका थिए। 

२४ बोतल पिइसकेपछि उनीहरूले यसको म्याद नाघेको थाहा पाएका बताएका थिए। त्यसपछि मात्र उनीहरूले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेका थिए। 

त्यसपछि प्रहरीले खोज्दै जाँदा बिक्री गोदाम निरीक्षणका क्रममा ३५० मिलिको ३१६ कार्टुन र ११ बोत्तल, ३३० मिलिको ५ कार्टुन र ११ बोतल म्याद गुज्रिएको बड्वाइजर बियर फेला पारेको जिल्ला प्रशासन कार्यालयले जनाएको थियो।

गएको फागुनमा पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले धुम्बराईस्थित याक ब्रुअरी कम्पनीबाट उत्पादित बियर कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिको गोदाममा छापा हानेको थियो। जहाँबाट २१ सय कार्टुन बियर बरामद भएको थियो। 

गर्मी मौसममा बियरको माग पनि धेरै हुने गर्छ। सिल्ड गरिएको बियर फ्रिजविना ६ देखि ८ महिनासम्म पिउनयोग्य मानिन्छ भने फ्रिजमा राखिएको १२ महिनाभित्र सामान्यतया यसलाई प्रयोग गरिनुपर्छ। 

तर म्याद नाघेको पछिल्लो महिनाको अवधिसम्म पनि बिक्रेताहरूले बियर बेचिरहेका भेटिएको छ। 

म्याद गुज्रिएको बियर बजारमा भेटिनुलाई व्यापारिक कारण मान्छन् वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराई।

उनका अनुसार उत्पादक कम्पनीले यति पैसा बजारमा होल्ड गर्न सकिन्छ भने बियरको म्याद तय गर्ने बताए।

'यस्ता बियरको ठ्याक्कै गुज्रिने मिति त भन्ने मलाई थाहा छैन, कुनैले ६ त कुनैले ८ महिना लेखेको हुन्छ, बजारमा कति समय होल्ड गर्न सकिन्छ त्यसका आधारमा यसको म्याद तय गर्ने गरेको पाइएको छ।'

खासगरी ठूला पार्टी, तथा भोजभतेरमा गिलासमा प्रयोग हुने हुनाले पनि यस्ता पेय पदार्थको म्यादबारे मानिसहरूले भेउ पाउन सक्दैनन्।

कतिपयले त मादक पदार्थको म्याद नाघ्नु र ननाघ्नुले फरक नपार्ने ठानेर पनि यसप्रति बेवास्ता गर्ने गरेका उनले बताए। 

तर पनि म्याद गुज्रिएका बियर भेटिए कारबाही गरिएको भट्टराईले बताए। कम्पनीका प्रतिनिधि नै बोलाएर यसबारे जानकारी गराउने गरिएको पनि उनले बताए।

तर यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने आफूहरूले पछिल्लो समय म्याद गुज्रिएको बियर फेला नपारेको बताए। तर भेटेसम्म भेटेकै ठाउँमा डम्प गरिनेगरेको बताए।

'म्याद गुज्रिएको कुनै पनि सामग्री बिक्री गर्नु दुवै पक्षलाई हित छैन, हामीले भेटे त्यहीँ कारबाही गर्छौँ।'

जेठ २४, २०८० बुधबार १९:१०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।