भारतीय बजारबाट अवैध र अखाद्य मासु आउन थालेपछि बुटवलमा कडा अनुगमन

भारतीय बजारबाट अवैध र अखाद्य मासु आउन थालेपछि बुटवलमा कडा अनुगमन

बुटवलः भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले मासु पसलहरू र सप्लायर्सहरूमा अनुगमन तीव्र पारेको छ। 

बुटवल उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरू भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलहरूमा अनुगमन थालेको हो। 

जेठ १४ गतेदेखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज नफत गरी नष्ट गरेको छ। 

बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, मासु व्यवसायी संघ, सञ्चारकर्मीसहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सावित्रादेवी अर्यालले बताइन्। 

अनगुमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहोर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसलहरू एकैठाउमा राखेका, व्यवसाय दर्ता नगरेकाजस्ता मासु पसल तथा सप्लायर्सहरूलाई चेतावनी दिँदै सुधार गर्न निर्देशन दिइएको उनको भनाइ छ। 

उनले मासुको गुणस्तर र मापदण्ड पूरा नगरेकाहरूलाई कानुनी दायरामा ल्याउने र निरन्तर अनुगमन गरी व्यवस्थित बनाउने बताइन्। 

अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलहरूबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए। 

मानिसले विश्वास गरेर खरिद गर्ने मासु स्वस्थ र स्वच्छ हुनुपर्ने, पशुपंक्षी बध गर्दा र मासु बिक्री गर्दा मापदण्ड पूरा गर्नुपर्ने पशुपक्षी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले बताए। 

जेठ २४, २०८० बुधबार १६:४८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।