यार्सा संकलन क्रममा बेपत्ता भएका ३ जनाको शव ३२ दिनपछि फेला

यार्सा संकलन क्रममा बेपत्ता भएका ३ जनाको शव ३२ दिनपछि फेला
फाइल तस्बिर

मुगुः हिउँपहिरोमा बेपत्ता भएका ३ जना यार्सा सङ्कलकको शव ३२ दिनपछि फेला परेको छ।  

मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए। 

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कल गर्न गएका उनीहरू हिउँपहिरोमा बेपत्ता भएका थिए ।

बेपत्तामा परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीबाट दुई हप्तासम्म खोजी गरेको थियो। 

लगातार हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उनले बताए।

'बेपत्ता भएकाको तीनै जनाको शव घटनास्थलभन्दा दुई किलोमिटर तल ल्याएका थियौँ', उनले भने। शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई बुझाई दाहसंस्कार गरिएको बस्नेतले बताए। 

जेठ २४, २०८० बुधबार १२:२२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।