भैरहवा विमास्थलमा आईएलएस सञ्चालन गर्नेबारे भारत मौन, प्राधिकरण भन्छ– ‘भारत मौन बस्नु नै स्वीकृति हो’

भैरहवा विमास्थलमा आईएलएस सञ्चालन गर्नेबारे भारत मौन, प्राधिकरण भन्छ– ‘भारत मौन बस्नु नै स्वीकृति हो’

काठमाडौं : नेपाल र भारत सरकारबीच भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम (आईएलएस)सञ्चालन गर्ने सहमति नभएको खुलेको छ।

उकेरासँगको कुराकानीमा नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जग्गनाथ निरौलाले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम (आईएलएस) सञ्चालन गर्ने सहमति नभएको पुष्टि गरे।

यद्यपि नेपालले राखेको प्रस्तावमा भारत सकारात्मक देखिएको उनले बताए।

‘गौतम बुद्ध विमानस्थलमा आईएलएस सञ्चालन गर्ने अनुमतिका लागि हामीले प्रस्ताव गरेका हौँ र नेपालबाट जारी भएको प्रेस विज्ञप्तिमा यो कुरा परेको छ तर भारतबाट जारी भएको विज्ञप्तिमा आईएलएसको कुरा छैन,’ निरौलाले भने, ‘भारत यस विषयमा मौन रहेको छ। हामीले यसलाई स्वीकृतिका रूपमा बुझेका छौँ। अब छिट्टै प्रक्रियामा गएर सम्झौता हुन्छ।’

भारतले मौनता साँध्यो भन्दैमा सहमति भन्न मिल्छ त भन्ने प्रश्नमा निरौलाले सहमति भएको भन्न नमिल्ने तर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उड्डयन प्राधिकरणले आन्तरिक काम सकेपछि उताको प्राधिकरणसँग प्रधानमन्त्रीको भ्रमणमा भएको कुरा भनेर सम्झौता गरिने बताए।

भारतले आफ्नो तर्फबाट जारी भएको प्रेस विज्ञप्ति देखायो भने सम्झौता हुन्छ त भन्ने उकेराको अर्को प्रश्नमा निरौलाले सम्झौता हुने र भारतले अस्वीकार नगर्ने दाबी गरे।

प्रधानमन्त्रीले नै स्वदेश फर्केपछि जारी गरेको प्रेस नोटमा समेत आईएलएसबारे सम्झौता भएको उल्लेख छैन। सकारात्मक छलफल भएको बताइएको छ।

जहाँ लेखिएको छ- ‘हवाई सेवालाई थप सुरक्षित बनाउन नेपालले अर्को हवाई प्रवेश मार्ग र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम (आईएलएस) सञ्चालन गर्ने प्रक्रिया सम्बन्धमा भारतीय पक्षको समझदारीबारे समेत छलफल भएको छ। नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्लीलगायत भारतका अन्य शहरमा दुईतर्फी उडान गर्ने सम्बन्धमा सकारात्मक कुराकानी भएको छ।’

के हो इन्स्टुमेन्टल ल्यान्डिङ सिस्टम ‘आईएलएस’?
नेपालले भारतसँग आईएलएस सञ्चालनका लागि पटक–पटक माग गर्दै आए पनि अहिलेसम्म अनुमति दिएको छैन।

आईएलएसले खराब मौसम, राति वा आकस्मिक अवतरण गराउन मद्दत गर्छ। यसले धावनमार्गको अवस्थाबारे उडिरहेको जहाजलाई सूचना दिन्छ।

जेठ २४, २०८० बुधबार ११:००:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।