विश्वासको मत लिन प्रयास गर्छु : मुख्यमन्त्री कार्की

विश्वासको मत लिन प्रयास गर्छु : मुख्यमन्त्री कार्की
फाइल तस्बिर

विराटनगर : अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रयास गर्ने बताएका छन्।

विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले आफ्नै नेतृत्वमा बजेट आउने र विश्वासको मत लिने प्रयास गर्ने बताए।

‘आगामी आर्थिक वर्षको बजेट पनि आउँछ,’ अब के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘संवैधानिक र कानूनी हिसावले म अल्पमतमा पुगेको छु। विश्वासको मत लिने प्रयास गर्छु।’

यस्तै, सरकारका प्रवक्ता एवं कृषिमन्त्री तथा राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले विश्वासको मत पाए मुल बाटाेबाट बजेट ल्याउने बताए।

‘विश्वासको मत हामी फेस गर्छौं,’ सिटौलाले भने, ‘विश्वासको मत पायौं भने सरकार चल्यो। नभए अर्को विकल्पमा हामी जान्छौं। संसद फेस गरेरै बहुमत पुर्याउने कोशिस गर्छौैं। त्यो भयो भने मूलबाटोबाटै बजेट ल्याउँछौं।’

माओवादी केन्द्रले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री फिर्ता बाेलाएपछि कार्की नेतृत्वको कोशी सरकार अल्पमतमा परेको छ।

जेठ २४, २०८० बुधबार १०:०८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।