धमाधम सुटिङ हुँदै पंचायत–३ : फुलेरासम्म बन्यो पक्की सडक, रोकियो सचिवको सरुवा!

धमाधम सुटिङ हुँदै पंचायत–३ : फुलेरासम्म बन्यो पक्की सडक, रोकियो सचिवको सरुवा!

एजेन्सी : अमेजन प्राइमको लोकप्रिय वेब सिरिज पञ्चायतको तेस्रो सिजनको सुटिङ सुरु भएको छ।

मध्य प्रदेशको सिहोर जिल्लाको महोदिया गाउँमा सुटिङ भइरहेको छ। यो गाउँलाई उत्तर प्रदेशको बलिया जिल्लाको फुलेरा गाउँको रूपमा सिरिजमा देखाइएको छ।

सिजन–३ अर्को वर्ष अप्रिल–मेसम्म रिलिज हुने बताइएको छ। सिरिजको सिजन–२ निकै रोचक विन्दुमा पुगेर सकिएको थियो। पञ्चायत सचिव अभिषेक त्रिपाठीको सरुवा भएको देखाइएको थियो।

यसबाहेक सिजन ३ मा फुलेरासम्म पक्की सडक बन्ने हो कि होइन? सचिवको सरुवा गर्ने विधायकलाई के हुन्छ? छोरा शहीद भएका उपप्रमुख प्रह्लादको अवस्था के होला? कहाँ पुग्छ रिंकी र सचिव जीको प्रेमकथा? भन्ने प्रश्नको उत्तर पनि सिरिजको आगामाी सिजनले देखाउने नै छ।

शहीद राहुलको सम्झनामा केन्द्रीय पुस्तकालय
पञ्चायतको सुटिङ सेटमा शहीद भएका उपप्रमुख प्रल्हाद पाण्डेका छोरा राहुलको सम्झनामा पुस्तकालय निर्माण गरिएको देख्न सकिन्छ। पुस्तकालय बाहिर राहुलको मूर्ति पनि देखिनेछ। त्यसमा लेखिएको छ– फुलेरा गाउँका वीर पुत्र अमर शहीद राहुल पाण्डेप्रति नमन्।

भएन सचिवको सरुवा?
पञ्चायत भवनमा प्रधानको नाम मञ्जु देवी/ब्रिजभूषण दुबे लेखिएको छ। तर, सचिवमा अझै अभिषेक त्रिपाठीको नाम लेखिएको छ। यसले पञ्चायत सचिवको सरुवा रोकिएको हुनसक्ने अनुमान लगाउन सकिन्छ।

सिजन २ मा फुलेरासम्मको सडक निर्माणका लागि बजेट नदिएको भन्दै विधायक चन्द्र किशोरलाई गाउँमा प्रवेश गर्न नदिएपछि उनी आक्रोशित भएका थिए। त्यसमा सचिव त्रिपाठीको हात रहेको भन्दै विधायकले उनको सरुवा गरेको देखाइएको थियो।

कालोपत्रे सडक
शहीद राहुल पाण्डे केन्द्रीय पुस्तकालय अगाडि बोर्ड राखिएको छ। सीसी रोडमा लेखिएको छ सरपंच ग्राम पञ्चायत फुलेरा। सायद यो त्यही सडक हो जसको लागि फुलेरा गाउँका प्रधान मञ्जु देवीका श्रीमान् बृजभूषण दुबे सिजन २ मा विधायक चन्द्र किशोरसँग रकम माग्न गएका थिए तर पाएका थिएनन् अनि झगडा गरेर फर्किएका थिए।

पञ्चायतको कथा
यो कमेडी ड्रामा हो। उत्तर प्रदेशको एउटा गाउँ फुलेरालाई सम्पूर्ण सिरिजमा देखाइएको छ। प्रत्येक एपिसोडको कथा अभिषेक त्रिपाठी, मञ्जु देवी, बृजभूषण दुबे, विकास र प्रह्लाद पाण्डेको वरिपरि घुम्छ।

सिरिजका अहिलेसम्म दुई सिजन रिलिज भइसकेका छन्। यसको सिजन–१ ३ अप्रिल २०२० मा रिलिज भएको थियो। जसलाई मानिसहरुले एकदमै मनपराएका थिए। पहिलो सिजनले आईएमडीबीमा १० मध्इे ८.८ रेटिङ पाएको थियो।

सिजन १
वेब सिरिजमा, इन्जिनियरिङ पास आउट अभिषेक त्रिपाठीले फुलेरा पञ्चायत कार्यालयमा सचिवको रूपमा सरकारी जागिर पाउँछन्। उनी यो जागिरबाट खुसी छैनन् तर जागिर नखाइ पनि भएको छैन। यसका साथसाथै उनी क्याटको तयारी पनि थाल्छन्। तर, पछि विस्तारै उसलाई गाउँ मन पर्न थाल्छ। सचिवले गाउँको प्रमुखको छोरी रिंकीलाई पानीको ट्यांकीमा भेट्छन् र पहिलो सिजन यहीँ समाप्त हुन्छ।

सिजन २
पञ्चायतको दोस्रो सिजन २० मे २०२२ मा रिलिज भएको थियो। यस सिजनको रेटिङ पनि आईएमडीबीमा ८ भन्दा बढी थियो। यस सिजनमा विधायक चन्द्र किशोरको प्रवेश देखिन्छ। उपप्रमुख प्रह्लाद पाण्डेका छोरा शहीद भएको विषय पनि यस सिजनमा देखाइएको छ। यसमा रिंकी र अभिषेक त्रिपाठीको कथालाई अगाडि बढाइएको छ। सचिवको सरुवा पत्र आएुसँगै यो सिजन सकिएको छ।

सिजन ३
दर्शकहरूले अहिले सिजन ३ को प्रतिक्षा गरिरहेका छन्। यसको छायांकन अझै जारी छ। यो नोभेम्बर ३० सम्म यसको छायांकन सक्ने अपेक्षा गरिएको छ। यस्तो अवस्थामा यो वर्ष तेस्रो सिजन रिलिज हुने सम्भावना देखिँदैन। तेस्रो सिजन अर्को वर्ष अप्रिल–मेमा रिलिज हुनसक्ने देखिएको छ। यद्यपि आधिकारिक रूपमा पञ्चायतका निर्माताहरूले यसको मिति बारे कुनै अपडेट दिएका छैनन्।

यद्यपि कथाको विषयमा सिरिजका निर्देशक दीपक कुमारले रिंकी र अभिषेक त्रिपाठीको प्रेमकथाको बारेमा केही भनेका थिए। उनले गाउँका प्रकृतिको कारण उनीहरूको प्रेमको गति पनि सुस्त भएको बताएका थिए।

उनले भनेका थिए– ‘सबै कुरामा समय लाग्छ। गाउँको प्रकृति जस्तै, सबै कुरा सुस्त गतिमा हुनेछ। सबै कुरा क्रमशः हुनेछ।’

२४ जेठ, २०८०, ०८:५८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।