प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन‌ सुवासलाई ५ स्ट्रोकको अग्रता

प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन‌ सुवासलाई ५ स्ट्रोकको अग्रता

काठमाडौं : सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फको पहिलो दिन ५ स्ट्रोकको अग्रता लिएका छन्।

गोकर्ण गल्फ क्लबमा नेपालका नम्बर एक एमेच्योर गल्फर सुवासले मंगलबार ९ अन्डर ६३ को उत्कृष्ट स्कोर बनाए।

सूर्य नेपाल गल्फ टुर सिजनको आठौं तथा अन्तिम प्रतियोगितामा व्यावसायिक गल्फर तोरणविक्रम शाही ५ स्ट्रोक पछाडि रहेर सुवासलाई पछ्याइरहेका छन्।

तोरणले ४ अन्डर ६८ को स्कोर बनाए। जयराम श्रेष्ठ र शिवराम पौडेलले ३ अन्डर ६९ को स्कोरमा संयुक्त तेस्रो स्थान छन्।

दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी सुवासले व्यावसायिक गल्फरहरूलाई पहिलो दिनदेखि नै दबाब दिनेक्रममा उत्कृष्ट सुरुआत गरे।

एमेच्योर खेलाडी सद्भाव आचार्य २ अन्डर ७० सहित पाँचौं स्थानमा छन्। १ अन्डर ७१ को स्कोरमा डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईसहित कृष्णमान राजबहाक र दिनेश प्रजापति संयुक्त छैटौं स्थानमा छन्।

सूर्यप्रसाद शर्मा, भुवन नगरकोटी, दलबहादुर लामा, रवि खड्का र राजेन्द्र थापामगर संयुक्त नवौं स्थानमा छन्। उनीहरूले पहिलो दिनको खेल इभन–पार ७२ मा सकेका थिए।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र ९ एमेच्योरले ७२ होलको प्रतियोगिता खेल्नेछन्। ३६ होल समाप्तिमा शीर्ष २१ प्रो र कम्तीमा ६ एमेच्योर खेलाडीले कट बनाउने छन्।

जेठ २३, २०८० मंगलबार २१:१९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।