अल्पमतमा कोशी सरकार, अध्यादेशबाट बजेट ल्याउने तयारी

अल्पमतमा कोशी सरकार, अध्यादेशबाट बजेट ल्याउने तयारी

काठमाडौं : कोशी प्रदेश सरकार अल्पमतमा परेको छ।

मंगलबार माओवादी केन्द्रबाट सकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो।

भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीसमक्ष राजीनामा दिएका हुन्।

माओवादीको पनि समर्थन फिर्ता भएसँगै अब एमालेसँग मात्र ४६ सांसदको समर्थन छ। एमाले प्रदेशको सबैभन्दा ठूलो पार्टी हो। उसले ४० सिट ल्याउँदा उसलाई अहिले साथ दिइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ सिट छ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। कार्की सरकारको लागि एक सांसद् कम भएको हो।

यसबाहेक प्रदेशसभामा नेपाली कांग्रेसका २९, माओवादीको १३, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन्।

केन्द्रमा कांग्रेससँग सत्ता समीकरण भएको अवस्थामा जेठ १६ गते जनता समाजवादी पार्टीले पनि आफ्नो एक सांसद्लाई सरकारबाट फिर्ता बोलाएको थियो।

एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सरकार अल्पमतमा परेसँगै सरकारले संसद् अधिवेशन बन्द गरेर अध्यादेशबाट बजेट ल्याउने संकेत गरेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले नयाँ परिस्थितिमा नयाँ ढङ्गले बजेट ल्याउने तयारी भएको बताए।

जेठ २३, २०८० मंगलबार १९:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।