पाँच दिनपछि भेटियो सीटीईभीटीको गाडी, दुई कर्मचारीको शव पनि झिकियो

पाँच दिनपछि भेटियो सीटीईभीटीको गाडी, दुई कर्मचारीको शव पनि झिकियो
तस्बिर- सशस्त्र प्रहरी बल

सिन्धुली : सुनकोशी नदीमा पाँच दिनदेखि बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप र दुई कर्मचारीको शव फेला परेको छ।

घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीको अवस्थामा जिप र शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र दुई वटा शव बाहिर निकालेको हो।

कोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि गाडी र शव फेला परेको हो।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो।

दुर्घटनामा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए।

जेठ २३, २०८० मंगलबार १८:५९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।