शाइन सहकारीका अध्यक्ष बुधबार विदेश उड्ने सुइँको पाएपछि प्रहरी गुहार्दै बचतकर्ता
बुटवल : बुटवलमा रहेको शाइन बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रकाश खनाल विदेश जाने सुइँको पाएपछि बचतकर्ताहरू राेक्न माग गर्दै प्रहरी कार्यालय पुगेका छन्।
सुरुमा इलाका प्रहरी कार्यालय बुटवल पुगेका बचतकर्ताहरूको गुनासो सुनुवाइ नभएपछि जिल्ला प्रहरी कार्यालय भैरहवा पुगेका हुन्। निवेदन दर्तापछि भैरहवाबाट प्रहरीका सबै निकायमा पत्राचार भएको छ।
बचतकर्ताले अध्यक्ष खनाल बुधबार विदेश जान लागेको जानकारी पाएपछि अध्यागमनमा रोक्न भन्दै निवेदन दिएका हुन्।
पीडितको गुनासो सम्बोधन जिल्ला तहबाट गर्न सकिने सम्बोधन गरिएको र अध्यक्ष खनालको सम्बन्धमा प्रहरीको माथिल्लो युनिटमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी श्यामु अर्यालले जानकारी दिए।
सहकारीबाट पीडित टेकराज पन्थीले अध्यक्ष खनाल विदेश जान लागेको थाहा पाएपछि पीडितहरू प्रहरीकोमा पुग्नुपरेको बताए।
‘प्रहरीले सबै ठाउँमा यसबारे जानाकारी दिएको छ। हामीले पनि अध्यक्ष खनाललाई आएर छलफल गर्नुस्, नभाग्नुस् भनेर भनेका छौँ’, उनले भने।
अध्यक्ष खनालले केही पिडितहरूसामु मिडियामा समाचार आएपछि आफू सम्पर्कविहीन हुनुपरेको जानकारी गराएको पीडितहरूले बताएका छन्।
प्रहरी कार्यालयमा पीडितसहित त्यहाँ कार्यरत केही कर्मचारीहरू पनि पुगेका थिए। पीडित बचतकर्ताले कर्मचारीहरूलाई पनि सँगै आन्दोलनमा होमिनुपर्ने बताउँदै आएका छन्।
जेठ २३, २०८० मंगलबार १८:२१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।