प्रचण्डले अर्थ मन्त्रालय सम्हाल्दा करको दायरा हेरफेरमा संलग्न पूर्वनासुलाई ३ महिने नियुक्ति (पत्रसहित)

प्रचण्डले अर्थ मन्त्रालय सम्हाल्दा करको दायरा हेरफेरमा संलग्न पूर्वनासुलाई ३ महिने नियुक्ति (पत्रसहित)

काठमाडौं : बजेट प्रस्तुत हुनुअघि करको दर हेरफेरमा जोडिएका भनिएका रामकृष्ण श्रेष्ठलाई २०७९ फागुन १९ गते नियुक्ति दिएर २३ गतेदेखि हाजिर गराएको पुष्टि भएको छ।

अर्थमन्त्रीले करको दर हेरफेर गराएको भन्दै प्रतिपक्षी दलहरूले मंगलबार सुरुमै संसदमा विरोध जनाएका थिए। जसको जवाफमा अर्थमन्त्री डा. प्रकाशशरण महतले यसबारे सदनमा जानकारी पनि दिएका थिए। 

तर सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. महतले पूर्वनासु(नायब सुब्बा) श्रेष्ठलाई आफूभन्दा अगाडिकै अर्थमन्त्रीले नियुक्त गरेको बताए। महत चैत १७ गते अर्थमन्त्री नियुक्त भएका थिए।  

महत अर्थमन्त्री नियुक्त हुनुअघि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नै सम्हालेका थिए। श्रेष्ठलाई २०७९ फागुन १९ गते नियुक्ति दिएर २३ गतेदेखि हाजिर गराएको कागज प्राप्त भएको हो। 

एमालेबाट अर्थमन्त्रीका रूपमा विष्णु पौडेल सहभागी थिए। तर एमालेले सरकार छाडेपछि प्रचण्डले नै अर्थ मन्त्रालय सम्हालेका थिए। 

सोमबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले श्रेष्ठको नियुक्ति किन गरिएको भन्दै अर्थमन्त्रीसँग जवाफ मागे।

अर्थ मन्त्रालयका अवकाशप्राप्त कर्मचारी श्रेष्ठलाई कसको इन्ट्रेस्टमा किन नियुक्ति गरिएको भन्दै उनले सदनमा प्रश्न उठाएका हुन्। प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अघिल्लो अर्थमन्त्रीकै पालामा श्रेष्ठलाई नियुक्ति दिइएको उत्तर दिएका छन्।  

खतिवडाले संसदमा भने, ‘रामकृष्ण श्रेष्ठलाई २०७९ फागुन १९ गते नेपाल सरकारले नियुक्त गरेको देखिन्छ। त्यतिखेर अर्थमन्त्री को थियो, सचिव को थिए ?, उनले सोधे, ‘दुई वर्षअघि रिटायर्ड कर्मचारीलाई त्यहाँ नियुक्त गर्नुपर्ने जरुरी के पर्यो ?’

उक्त कागजमा फागुन २५ बाट असारसम्म रहनेगरी श्रेष्ठलाई महिनाको ३४ हजार ७ सय ३० रुपैयाँ दिनेगरी नियुक्त गरिएको छ। उक्त नियुक्तिलाई लिएर खतिवडाले अर्थमन्त्रीसँग जवाफ मागेका हुन्। 

महतले भने आफूभन्दा अघि श्रेष्ठले नियुक्त पाएर आएका भन्दै कर्मचारीको सहयोगीको भूमिकामा मात्र काम गरेको प्रस्टयाए।

‘३० वर्षदेखि यसमा उहाँले काम गर्नुहुँदो रहेछ।आधिकारिक करको दर हेरफेरमा उहाँले आदेशप्राप्त कर्मचारीले भनेर गर्नुहुने रहेछ। पहिलेका अर्थमन्त्रीले नियुक्ति हुनुभएको रहेछ। कर्मचारीको सहयोगीको भूमिकामा उहाँले काम गर्नुभएको रहेछ,’ महतले भने। 

श्रेष्ठले काम गर्नुपर्ने स्थान र समयबारे उक्त नियुक्ति पत्रमा लेखिएको छ- ‘भन्सार विभागमा परिआउने कार्यालयसम्बन्धी कार्य विभागमा र आवश्यकताअनुसार विभागले तोकेका स्थानमा समेत कार्यालय समयमा र आवश्यकताअनुसार अतिरिक्त समयमा पनि काम गर्नुपर्नेछ।’ 

श्रेष्ठलाई २०७९ फागुन १९ को निर्णयअनुसार नियुक्ति दिएको देखिन्छ। श्रेष्ठलाई सूचना प्रविधि सहायक भनि राखिएको नियुक्तिपत्रमा उल्लेख छ। 

पत्रमा भन्सार विभागका शाखा अधिकृत घनश्याम तिमिल्सिना र भन्सार विभागकै लेखा अधिकृत दावा शेर्पा साक्षी देखिन्छन्। 

जेठ २३, २०८० मंगलबार १७:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।