एसिया कप : चार देशले अस्वीकार गरे पाकिस्तानको हाइब्रिड मोडल
काठमाडौं : आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि भारतसहित चार देशले पाकिस्तानले प्रस्ताव गरेको हाइब्रिड मोडल अस्वीकार गरेका छन्।
छ देश सम्मिलित प्रतियोगिताको लागि भारतसहित श्रीलंका क्रिकेट बोर्ड, बांग्लादेश क्रिकेट बोर्ड र अफगानिस्तान क्रिकेट बोर्डले एसियन क्रिकेट काउन्सिललाई औपचारिक पत्र लेखेर चार खेल पाकिस्तानमा गरेर बाँकी खेल न्यूट्रल भेन्यूमा गर्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को प्रस्ताव अस्वीकार गरेको हो।
पाकिस्तानका पूर्व क्रिकेट कप्तान राशिद लतीफले एक ट्वीट गर्दै भारत र अन्य तीन देशले हाइब्रिड मोडल अस्वीकार गरेको बताए।
‘लजिस्टिक र आर्थिक हिसाबले सबैले एउटै भेन्यूमा प्रतियोगिता हुनुपर्नेमा उनीहरूले एकमत राखेका छन्,’ उनले ट्वीटरमा लेखेका छन्, ‘सम्भवतः जुम मिटिङ वा केही दिनपछि दुबईमा हुने बैठकले सबै कुरा फाइनल गर्नेछ।’
उनको भनाइलाई क्रिकबजले सम्पर्क गरेर पुष्टिसमेत गरेको छ। क्रिकबजसँगको कुराकानीमा लतीफले स्वतन्त्र स्रोतहरूबाट आफूलाई चार देशले अस्वीकार गरेको जानकारी आएको र एसिया कप पाकिस्तानमा नहुने लगभग पक्का भएको बताएका छन्।
यद्यपि पाकिस्तानले प्रतियोगितामा सहभागी हुनुपर्ने उनले बताए। पाकिस्तानमा खेल नभए पनि पाकिस्तान एसिया कपबाट बाहिरिन नहुने उनको धारणा छ। पीसीबीले एसिया कपको बारेमा पछिल्लो समय विकसित घटनाक्रममा कुनै औपचारिक विज्ञप्ति आएको छैन।
सेप्टेम्बरको दोस्रो साताबाट हुने एसिया कपलाई अक्टोबर–नोभेम्बरमा हुने विश्वकपको तयारीको रूपमासमेत हेरिएको छ। १७ खेलको प्रतियोगितामा भारत, पाकिस्तान, बांग्लादेश, श्रीलंका, अफगानिस्तान र नेपाल खेल्दैछन्।
गत महिना नेपालमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएको हो। नेपाल भने जहाँ भए पनि एसिया कप सहज वातावरणमा होस् र सबै टिमले खेलोस् भन्ने चाहन्छ।
जेठ २३, २०८० मंगलबार १७:११:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।