सहकारीका संचालक सम्पर्कविहिन भएपछि तनावमा बचतकर्ता, कर्मचारीकै बचत रकम पनि फस्यो

सहकारीका संचालक सम्पर्कविहिन भएपछि तनावमा बचतकर्ता, कर्मचारीकै बचत रकम पनि फस्यो

बुटवल : बेपरवाह लगानी गर्दा अहिले बुटवलका सहकारीहरु एकपछि अर्को गर्दै समस्यामा परेका छन्। सहकारी समस्यामा पर्दा सबैभन्दा बढी मार बचतकर्तामा परेको छ।

जम्मा गरेको रकमले अप्ठ्यारो परिस्थितीमा दुखेसो टार्ला भनेर सहकारीमा बचत गरेका बचतकर्ता अहिले पैसा कसरी उठाउने भन्ने तनावमा छन्।

सहकारीले पैसा नदिएपछि कतिपयको घरमा मनमुटावमै हुन थालेको छ। ‘दैनिक १ सय रुपैयाँ भए पनि जम्मा होस भनेर सहकारीमा राखेको हो। तर अहिले सहकारीका सबै मान्छे सम्पर्कविहिन भएपछि कहाँ खोज्न जाने,’ बुटवल देविनगरकी गोमा खड्काले भनिन्।

बुटवलको देविनगरमा सामान्य पसल सञ्चालन गरेर बसेकी गोमा खड्काले आफ्ना २ छोराछोरीको पढाइ खर्च जुटाउन सजिलो होस भनि शाइन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडमा रकम जम्मा गरेको भए पनि अहिले सञ्चालक सम्पर्कमा छैनन्।

उनी कहिले आफ्ना गुनासा लिएर प्रशासन त कहिले प्रहरीमा पुगेकी छन्। तर समस्याको समाधान हुन सकेको छैन। छोराछोरीका लागि भनेर बचत गरेको रकम सञ्चालकले नै कुम्ल्याएर सहकारीका अध्यक्ष सम्पर्कविहिन भएको खबर पाएपछि उनमा चैन छैन।

‘रकम त जम्मा ५० हजार हो। तर मेरा लागि यो ५० लाख रुपैयाँ हो। किनकि यसमा मेरो एउटा बिस्कुट बिक्री गर्दा हुने १० पैसा आम्दानी जोडिएको छ,’ उनले भनिन्।

बचतकर्ताको मात्र होइन सहकारीकी पीडित म्यानेजर अनिता पछाईले कर्मचारीहरुको मात्रै सहकारीमा ३० लाख बढि बचत भएको बताइन्।

बुटवलमा गिफ्ट पसल सञ्चालन गरेका प्रदीप थैवको यही सहकारीमा ३ लाख रुपैयाँ डुबेको छ। तिलोत्तमा–७ घर भई हाल बुटवलमा व्यापार व्यवसाय गर्दै आएका योगेश पाण्डेले पनि सहकारीमा ७० हजार डुबेको बताए।

सहकारीका अध्यक्ष बचतकर्ताको रकम कुम्ल्याएर भागेपछि बचतकर्ताहरु अहिले न्यायको खोजीमा भौतारिरहेका छन्। लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालय दाङ पुगेर उजुरी दर्ता गरे पनि सम्बन्धित निकायले अहिलेसम्म आफ्नो गुनासो नसुनेको पीडित योगेश पाण्डेले बताए।

दाङको प्रदेश सहकारी कार्यालयले आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पत्र काट्यो, जिल्ला प्रशासनले इलाका प्रहरी कार्यालयलाई आवश्यक कारबाहीका लागि निर्देशन दियो।

तर सहकारीका सञ्चालक खनाल भने सम्पर्कविहिन भएर बसिदिए। यसरी सञ्चालक सम्पर्कविहिन भएर बसेपछि प्रहरी प्रशासनले समेत उनलाई नियन्त्रणमा ल्याउन सकेको छैन।

यस शाइन बहुद्देश्यीय सहकारीका अध्यक्ष प्रकाश खनाल हुन्। ३ महिना अघि बचतकर्ताको रकम फिर्ता गर्छु भनेका खनाल अहिले एकाएक सम्पर्कविहिन भएपछि पीडितहरुसँग प्रशासन धाइरहनु बाहेक अर्को उपाय छैन।

पीडितहरू कहिले प्रशासन त कहिले अध्यक्ष खनाललाई खोज्न घरसम्मै पुगेका छन्। सोमबार पीडितहरु अध्यक्ष खनाल बस्ने बुटवल–११ देविनगरमा रहेको घर घेराउ गर्न पुगेका थिए। तर उनी त्यहाँ भेटिएनन्। सहकारीमा पनि अहिले ताला झुण्डिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले आवश्यक कारबाहीका लागि सहकारीका सञ्चालकलाई सम्पर्कमा ल्याउने प्रयास भैरहेको बताए। सञ्चालक खनाल बुटवल क्षेत्रमै नभएको आशंकामा नियन्त्रणका लागि अन्य ठाउँमा समेत समन्वय गर्ने काम भइरहेको उनले दाबी गरे।

रकम फिर्ता गर्दै सुनौलो सहकारी

सुनौलो बहुद्देश्यीय सहकारी संस्थाले किस्ताबन्दीमा बचतकर्ताहरुको बचत रकम भुक्तानी गर्न सुरु गरेको छ। अत्यन्त न्यून आय भएका सर्वसाधारणको बचत रकम भुक्तानी दिन आनाकानी गरेको सहकारीले अन्ततः भुक्तानी गर्न सुरु गरेको हो।

सहकारीकी व्यवस्थापक सृजना तामाङले बचतकर्ताको रकम भुक्तानी गर्न सुरु गरिएको बताइन्।

एक हजार ९ सयको चेक भुक्तानीमा आनाकानी गरेपछि बचतकर्ताको घेराउमा परेकी थिइन् तामाङ। बचतबाट संकलन भएको रकम मसलन्धमा खर्च भएको, संचालकको नाम थाहा नभएको, दर्ता कागजात अद्यावधिक नभएको जस्ता जवाफ दिएपछि आक्रोशित बचतकर्ताले तामाङलाई प्रहरीमा बुझाएर दर्ता अधिकारी कार्यालयमा उजुरी दिन पुगेका थिए।

प्रहरीको समन्वयमा दाङ चलान गरिएकी तामाङलाई दर्ता अधिकारी भिमप्रसाद तिवारीले यथासिघ्र बचत रकम भुक्तानी नगरिए ठगी अभियोगमा मुद्दा चलाउन पत्राचार गरेसँगै प्रहरी समक्ष उनले भुक्तानी गर्ने सहमति जनाएकी हुन्।

जेठ २३, २०८० मंगलबार ११:०९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।