अत्यधिक गर्मीका कारण पाँच दिन विद्यालय बन्द

अत्यधिक गर्मीका कारण पाँच दिन विद्यालय बन्द

दमौली : अत्यधिक गर्मी बढेपछि तनहुँको देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको छ।

केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालय शैक्षिक सत्र २०८० को वर्षे विदाबाट कट्टा हुनेगरी बन्द गर्ने निर्णय गरिएको हो।

देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले अन्य वडामा भने चिसो ठाउँ भएकाले विद्यालय बन्द गर्नु नपरेको बताए।

अत्यधिक गर्मी बढेपछि जिल्लाका अन्य विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन्। व्यास नगरपालिका–५ स्थित परासर माध्यमिक विद्यालयले आजदेखि गर्मी विदा दिएको छ।

व्यास नगरपालिकाको जेठ १९ गतेको निर्णयअनुसार गर्मी बढेकाले २६ गतेसम्म विदा दिइएको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिए।

व्यास नगरपालिकाले बर्खे विदाबाट कट्टा हुनेगरी विद्यालय व्यवस्थापन समितिको निर्णय गराई विदा दिनसक्ने निर्णय गरेको नगरपालिकाका शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिए।

२३ जेठ, २०८०, ०९:०६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।