गलेश्वर मन्दिरको ११ महिनाको आम्दानी करोडभन्दा बढी

गलेश्वर मन्दिरको ११ महिनाको आम्दानी करोडभन्दा बढी

म्याग्दी : बेनी नगरपालिका-९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ।

भक्तजनको आगमनसँगै मन्दिरको भेटी लगायत शीर्षकमा आम्दानी बढेको हो। चालु आवको साउनदेखि जेठ २१ गतेसम्म रु एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिए। 

चालु आर्थिक वर्षको हालसम्म रु एक करोड ५१ लाख एक हजार एक सय ३८ संकलन भएकामा विभिन्न शीर्षकमा रु ४५ लाख ७९ हजार छ सय ३० खर्च भएको छ।

सबैभन्दा बढी मण्डप भेटीबाट रु २४ लाख ७६ हजार चार सय ९९ र मेलापर्वको भेटीबाट रु २६ लाख ९१ हजार छ सय ३८ आम्दानी भएको छ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ। 

    हिन्दूधर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ। 

जेठ २३, २०८० मंगलबार ०८:३४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।