'कान्छो पत्रकार'को आवरणमा ठगी धन्दा, प्रतिव्यक्ति २० लाखसम्म असुलेर सिंगापुरमा अलपत्र

'कान्छो पत्रकार'को आवरणमा ठगी धन्दा, प्रतिव्यक्ति २० लाखसम्म असुलेर सिंगापुरमा अलपत्र

काठमाडौँः देशभरका ३९ युवाले सोमबार आफूहरू लुटिएको भन्दै काठमाडौँमा पत्रकार सम्मेलन गरे। ती युवा देशको राजधानी काठमाडौँसहित विभिन्न १२ जिल्लाका हुन्। 

'सिरियल लुटेरा' सुजन आचार्यबाट ठगिएको भन्दै उनीहरूले राजधानीको गैह्रीधारामा पत्रकारहरूमार्फत गुहार मागेका हुन्। 

सिंगापुर पठाइदिने भन्दै आफूहरूसँग आचार्यले लाखौँ रुपैयाँ ठगी गरेको उनीहरूको आरोप छ। 

आचार्यकी प्रेमिका भनिने बिनु शाक्य र सानिमाका छोरा (भाइ) सृजन निरौला सहितले सिंगापुरमा आफ्नै कम्पनीमा आकर्षक तलबसुविधासहित रोजगारी दिने आश्वासन दिएर आफूहरूलाई ठगेको उनीहरूको आरोप छ। 

पीडितले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पैसा बुझाउनेमध्ये १३ जनालाई आचार्यले 'ट्राभल हिस्ट्री’ बनाउनुपर्ने भन्दै भिजिट भिसामा सिंगापुरसमेत लगेका जनाइएको छ। 

सिंगापुर पुगेपछि एउटा होटेलमा सुत्नेबाहेक कुनै व्यवस्था नभएको र हरेक दिन खाना खान ४५ मिनेटसम्मको दूरीमा पैसा लिन आचार्यले बोलाउने गरेका पनि उनीहरूले खुलाएका छन्। 

सधैँजसो खानका लागि पैसा माग्न जान अप्ठ्यारो लागेपछि जगमा चाउचाउ पकाएर खाएको दुखेसो पनि उनीहरूले पत्रकार सम्मेलनमा सुनाए। 

 

काम नगरी नेपाल नफर्किने भनेर गएका उनीहरूको भिसाको म्याद सकिएपछि त्यहाँबाट गएको देखाउन फिलिपिन्ससम्म पुगे। तर, आफूहरूसँग पैसा नभएपछि त्यहाँको विमानस्थलमा ४८ घण्टासम्म बन्दी हुनुपरेको र पछि सीधै नेपालको विमानस्थलसम्म आइपुगेको एक पीडितले दुःख सुनाए। 

सिंगापुर पुगेर फर्किँदा 'ट्राभल हिस्ट्री’ बन्ने त्यसपछि नेपालमा दुई महिना बस्नुपर्ने, यता बस्दा पनि महिनाको १ हजार सिंगापुर डलरका दरले दुई महिनाको दुई हजार डलर पाउने, त्यसपछि फेरि सिंगापुर गएर आरामले काम गर्न पाइने उनीहरूलाई आचार्यले आश्वासन दिएका थिए। उनीहरूका अनुसार सबैसँग आचार्यले कूल १० करोड रुपैयाँ ठगी गरेका छन्। 

आचार्यले सिंगापुरमा महिनाको ३ हजार सिंगापुर डलर (२ लाख ९३ हजार नेपाली रुपैयाँ) देखि ४८ सय सिंगापुर डलर (४ लाख ७० हजार रुपैयाँ) सम्म कमाइ हुने आश्वासनसहित त्यहाँ पुर्याएका थिए। 

आचार्यले एक वर्षभित्र विभिन्न समयमा प्रतिव्यक्ति ५ लाखदेखि २० लाख रुपैयाँसम्म असुलेका उनीहरूले बताएका छन्। 

यसरी ठगिनेमा १२ भन्दा बढी जिल्लाका पीडितहरू छन्। 'हामी त एकापसमा सम्पर्क भएकाले यति संख्यामा भयौं, हामीसँग सम्पर्कमा नभएका अन्य २५-३० जना पीडित हुनुहुन्छ। उहाँहरू जाहेरी दिएर बस्नुभएको छ,’ एक पीडितले बताए। 

'हाम्रो अगाडि आचार्यले आफू सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको मालिक हुँ भने। नक्कली र फोटोसप गरिएका कागजपत्र देखाएका रहेछन्, त्यो बेला हामीले थाहै पाएनौँ। विश्वासमा पर्यौँ,’ विज्ञप्तिमा उल्लेख छ, 'हामीलाई भ्रममा राख्न आचार्यले कुनै कसर बाँकी छोडेनन्। उनले १० करोड रुपैयाँमा गोरखा, एभरेस्ट र हिमालयनजस्ता नेपाली रेस्टुरेन्ट किन्न डिल गरिसकेका रहेछन्।' 

सिंगापुरको बैंकमा आचार्यको ५ लाख डलर बचत रहेको विवरणसमेत उनीहरूले देखाए। 

आकर्षक कमाइ हुने लोभमा पीडितहरूले जग्गा धितो राखेर ऋण निकाल्ने, परिवारको गरगहना बेच्ने र जग्गासमेत बेचेर आचार्यलाई पैसा बुझाएको बताए। 

एक पीडितले भने, 'पैसा बुझाएको एक हप्तामा सिंगापुर उडाइदिने भनेकोमा एक वर्ष भइसक्दा पनि हुन्छ हुन्छ बाहेक कुनै जवाफ पाएका छैनौं। हामीलाई आफू ठगिएको थाहा पाउन वर्ष दिन लाग्यो।’ 

उनीहरू सबैले आफू ठगिएको थाहा पाएको जम्मा एक महिना मात्र भएको छ। त्यसपछि सबैले वैदेशिक रोजगार विभाग, अपराध महाशाखालगायतमा उजुरी दिएका छन्।  

उनीहरूमध्ये धेरैले बिनु शाक्यको नेपालस्थित इन्भेस्टमेन्ट बैंकको खातामा रकम बुझाएको बताएका छन्। 

प्रेस विज्ञप्तिमा जनाइएअनुसार पैसा सृजनले पनि लिएका हुन्। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ। बिनु र सुजनको नाममा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। 

तर आचार्यले नेपालमा नेता, मन्त्रीदेखि पुलिसका हाकिमहरूलाई समेत आफूले पैसा दिने गरेको दाबी गर्दै आएकाले सजिलै, बेलैमा न्याय पाउनेमा आफूहरूलाई शंका लागेको उनीहरूले बताएका छन्। र बाध्य भएर मिडियामा आउनुपरेको उनीहरूले तर्क गरेका छन्। 

घटना छानबिन र पीडितलाई न्याय दिलाउन प्रहरी प्रशासनबाट गम्भीर पहल नभए आन्दोलनमा उत्रिन बाध्य हुनेसमेत पीडितहरूले चेतावनी दिएका छन्। 

को हुन् आचार्य ? 

आचार्य तिनै व्यक्ति हुन्, जो पटक पटक ठगी र लुटपाटमा पक्राउसमेत परिसकेका छन्। एकवर्ष अघि २०७९ जेठ १२ गते पनि उनी ठगी आरोपमा समातिएका थिए। 

योजनाबद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरेर र प्रत्यक्ष भेटेर धम्की दिँदै ७ करोड रुपैयाँ माग गरेको आरोपमा उनी पक्राउ परेका थिए। 

त्यसबेला हिरासतमा रहँदा पनि उनले सँगै पक्राउ परेका साथीहरूलाई न्यायाधीशसँग आफ्नो चिनजान रहेको र आफ्ना मान्छेलाई भनेर सबै जनालाई छुटाउने तयारी भएको बताउदै ठगेको खबर पनि बाहिरिएको थियो। 

त्यस्तै उनी २०७६ चैत १० गते हीरा लुटपाट संलग्न भएको आरोपमा पक्राउ परेका थिए। 

पत्रकारको भेष बनाएर हीरा लुटपाट गरेको आरोपमा उनलाई प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको थियो। उनी एबीसी टेलिभिजनका पत्रकार रहेका प्रहरीले जनाएको थियो।  

उनीसहितको टोलीबाट साथबाट ६१.३० क्यारेटको १२.२६० ग्रामको हीरा एक थान, जीईएम आइडेन्टिफिकेसन रिपोर्ट, चाइनिज पेस्तोल एक थान, ७ राउन्ड गोली, सञ्चार सेट चार थान, क्यामेरा एक थान, ल्यापटप एक थान र मोबाइल ६ थानसमेत प्रहरीले बरामद गरेको थियो। 

त्यसैगरी वन्यजन्तु तस्करीमा समेत उनको नाम मुछिएको थियो। आफूलाई 'कान्छो पत्रकार दाबी गर्ने आचार्यले नेपालका चर्चित कलाकारदेखि नेतासम्म पुगेर फोटो खिच्दै आफू उनीहरूनिकट भएको आचार्यले दाबी गर्ने गरेका पीडितहरूको आरोप छ।

जेठ २२, २०८० सोमबार २२:३७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।