प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध दुव्यर्वहारको आरोपमा साइबर ब्यूरोमा उजुरी

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध दुव्यर्वहारको आरोपमा साइबर ब्यूरोमा उजुरी

काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको भन्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ। एक महिला पत्रकारले पत्रकारले जेठ १८ मा ब्यूरोमा उजुरी दर्ता गरेकी हुन्।

दर्ता नम्बर ७१२६ रहेको उजुरीमा ‘बालकृष्ण बस्नेत नामक फेसबुक आइडीले जेठ १५ गते मध्यरातको समयमा म्यासेन्जर मार्फत भेट गर्न प्रस्ताव राख्ने, अडियो कल गर्ने साथै पटक-पटक एसएमएस गरी रातको समयमा टर्चर समेत गर्ने गरेकाले सो व्यक्ति पत्ता लगाइ कारबाही गरी पाऊँ’ भनिएको छ।

साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले भने बस्नेतविरुद्ध उजुरी आएको भए पनि मुद्दा चलाउन पर्याप्त प्रमाण नआइपुगेको बताए।

‘प्रेस काउन्सिलका अध्यक्षविरुद्ध उजुरी आएको हो। तर साइबरसँग मुद्दा आर्कषित हुने म्यासेजको स्क्रीनसर्ट तथा बोलेको रेकर्ड आइपुगेको छैन,’ उनले भने, ‘अहिलेलाई यो विषय अनुसन्धान हुँदैछ, हामीले बस्नेतलाई सोधपुक्षका लागि बोलाएका छैनौँ।’

सूचना तथा प्रविधि मन्त्रीलाई समेत निवेदन
काउन्सिलका अध्यक्ष बस्नेतले दुव्यर्वहार गरेको भन्दै निवेदनकर्ताले सूचना तथा प्रविधि मन्त्री रेखा शर्मालाई समेत सम्बोधन गरेर आवश्यक कारबाही गरी पाऊँ भनि निवेदन दिएकी छन्।

निवेदनमा म्यासेन्जरबाट बारम्बार अनावश्यक म्यासेज र कल गरेर भेट्ने प्रस्ताव गरी हिंसाजन्य क्रियाकलाप भएको भन्दै कारबाहीको माग गरिएको छ।

उजुरीमा उनले यस किसिमको क्रियाकलापको बारेमा २०८० जेठ १६ गते आफ्नो फेसबुक वालमा सार्वजनिक गरेको र जेठ १८ गते नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको उल्लेख गरेकी छन्।

उजुरीपछि आफ्नो घरपरिवार, आफन्त, कार्यरत सञ्चार संस्थाका प्रमुखलगायतसँग फोन गरेर उजुरी फिर्ता लिन दवाव दिने र टर्चर दिने काम गरेको उल्लेख छ। उनले आफ्नो सुरक्षा र बस्नेतमाथि कारबाहीको माग गरेकी छन्।

ती महिला पत्रकारले फेसबुकमा आफू काउन्सिल अध्यक्षको दुव्यर्वहारमा परेको सार्वजनिक गरेपछि काउन्सिल अध्यक्ष बस्नेतले आफ्नो फेसबुक ह्याक भएको दाबी गरेका थिए।

जेठ २२, २०८० सोमबार १७:५९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।