दुर्घटनाको ५१ घण्टापछि भारतको उडिसामा पुनः रेल सेवा सञ्चालन

दुर्घटनाको ५१ घण्टापछि भारतको उडिसामा पुनः रेल सेवा सञ्चालन

एजेन्सी : शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनाको ५१ घण्टापछि भारतको उडिसामा पुनः रेल सेवा सञ्चालन भएको छ।

बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन्। रेल मन्त्रालयले रेल दुर्घटना भएको ५१ घण्टापछि कोइला लोड गरिएको मालवाहक रेल लिकमा गुडेसँगै सेवा पुनः सञ्चालनमा आएको हो।

अधिकारीहरूले भारतमा दशकौं पछि भएको यस घातक रेल दुर्घटना सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन्। 

भारतको पूर्वी राज्य उडिसाको बालासोर नजिकै भएको दुर्घटनामा २७५ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन्।

अधिकारीहरूले सुरुमा मृत्यु हुनेको सङ्ख्या २८८ रहेको बताएका थिए, तर उडिसा राज्य सरकारले केही शवहरू गलत तरिकाले दुई पटक गणना गरिएको भन्दै मृत्तकको संशोधित सङ्ख्या २७५ भएको पुष्टि गरेको छ।

यद्यपि, घाइतेमध्ये केहीको अवस्था अझै पनि गम्भीर रहेको भन्दै मृत्तकको सङ्ख्या अझै बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन्।

एक हजार १७५ घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् भने ३८२ जनाको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।

जेठ २२, २०८० सोमबार १३:५९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।