‘भैंसी चढेर आएको’ भन्ने अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन सभामुखको रुलिङ

‘भैंसी चढेर आएको’ भन्ने अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं : सभामुख देवराज घिमिरेले आज संसद्मा बोलिएको ‘भैंसी चढेर आएको’ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

उनले संसद्मा जसले भनेको भए पनि ‘भैंसी चढेर आएको’ भन्ने कुरा हटाउन रुलिङ गरेका हुन्। ‘भैंसी चढाएका थिए’ भनेर  प्रधानमन्त्रीले बोलेको पनि रेकर्डबाट हटाउन उनले निर्देशन दिएका हुन्।

आज प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले भारतबाट भैंसी चढेर आएको भनेपछि संसद्मा खैलाबैला भएको थियो।

‘प्रधानमन्त्री भारतबाट आउँदा प्लेन चढेर भर्खरै उद्घाटन गरेको पोखरा विमानस्थलमा ओर्लिनु हुन्छ होला भनेको त भैंसी चढेर आउनु भयो,’उनले भनेका थिए।

खनालले यसो भनेपछि सत्ता पक्ष माओवादीका सांसदहरूले ‘भैंसी चढेर आएको’ भन्ने कुरा संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए।

यसपछि प्रतिपक्ष दल एमाले र रास्वपाका नेताहरूले प्रधानमन्त्री स्वयम्ले नै संसदमा भैंसी चढेर आएको भन्ने कुरा गरेकोले हटाउने भए त्यो पनि हटाउन माग गरेका थिए।

जेठ २२, २०८० सोमबार १३:३४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।