नगरसचिवसहित सिद्धार्थनगरका ७४ जनाले छाडे एमाले

नगरसचिवसहित सिद्धार्थनगरका ७४ जनाले छाडे एमाले

बुटवलः नेकपा एमाले रुपन्देहीको सिद्धार्थनगर कमिटीका ७४ जनाले पार्टी छाडेका छन्।

उनीहरूले सोमबार पत्रकार सम्मेलन आयोजना गरी पार्टी छाडेको बताएका हुन्।

राजीनामा दिनेमा नगर कमिटी सचिव नारायणप्रसाद भण्डारी, नगर कमिटीका सदस्यहरू, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी, सदस्यलगायत छन्। 

एमाले सिद्धार्थनगर नगरभित्रका विभिन्न तहमा रहेका नेता कार्यकर्ताहरूले झण्डै १ महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझावपत्र पेश गरेका थिए।

भण्डारीले पार्टीलाई नातावाद, कृपावाद, गुटवाद र धनवादबाट बचाएर एकढिक्का पार्दै अगाडि लैजान ५१ जना कार्यकर्ताहरूले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारका लागि सुझावपत्र पेश गरिएको जानकारी दिए।

अहिलेको २१ औं शताब्दीमा जनताको चाहनाअनुसार पार्टीले सुधार गर्न नसक्ने, कार्यकर्ताको मनोभावना बुझ्न नसक्ने, युवा, लोकप्रिय, इतिहास बोकेकोलाई अहिलेसम्म पछाडि पारिएका, टिकट वितरणमा अन्यायमा पारिएका तमाम कार्यकर्ता र आम जनसमुदायहरूको विकास र समृद्धिप्रतिको तीव्र चाहनालाई समेट्न नसक्ने, पार्टीका उच्च नेताहरू नै भ्रष्टाचारमा मुछिएको, अन्यायमा परेका कार्यकर्ताहरूलाई सधैँ अन्यायमा पारिएकाले आजकै मितिदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको भण्डारीले बताए। 

नगरभित्र दुःखमा परेका जनताहरूको सेवा गर्न स्वतन्त्र नागरिक अभियान बनाएर अघि बढ्ने बताए। १० बुँदे माग कार्यान्वयन भए पार्टीमा फर्किने सम्भावना भए पनि कार्यान्वयनतर्फ पार्टी नेतृत्वले चासो नदिएको भण्डारीले बताए।

आगामी दिनमा पार्टीमा आमुल परिवर्तन गरी जनताको मनोभावना अनुसार काम गर्ने गरी वार्ता गर्न आए संवाद र वार्ताको ढोका पनि खुला राख्ने उनको भनाइ छ। 

जनताको चाहना भए आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगरको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिन तयार रहेको बताए।

एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले राजीनामाको विषयमा पार्टीलाई जानकारी नभएको बताए।

जेठ २२, २०८० सोमबार ११:४६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।