मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काइँदै

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काइँदै

दमौली : पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घर टहरा भत्काउन थालिएको छ।

सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो। मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ।

डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो। डुम्रे बजार लमजुङ जिल्लाको प्रवेशद्वार पनि हो। 

डुम्रे बजारमा धेरै वर्ष पहिला बनेका अधिकांश घर सडक मापदण्डभित्र बनेका छन्। त्यस्ता घरटहरालाई मुआब्जा दिएर भत्काइने योजनाले जनाएको छ।

पूर्वी खण्ड अन्तर्गत आबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका पर्दछन्। आबुखैरेनी र व्यास नगरपालिका क्षेत्रभित्रका घर टहरा पनि हटाउने तयारी भइरहेको जनाइएको छ। 

मुग्लिन पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। आबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ३० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ।

जेठ २२, २०८० सोमबार ११:२४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।