११ को परीक्षाको हालतः विद्यार्थीको हातहातमा मोबाइल, शिक्षकले नै विद्यार्थीलाई लेखाए चिट

११ को परीक्षाको हालतः विद्यार्थीको हातहातमा मोबाइल, शिक्षकले नै विद्यार्थीलाई लेखाए चिट

सर्लाहीः सर्लाहीको बरहथवा नगरपालिका-११ स्थिति एक विद्यालयले सञ्चालन गरेको कक्षा ११ को परीक्षामा शिक्षकले नै विद्यार्थीलाई प्रश्नपत्रको उत्तर लेखाउने गरेको भेटिएको छ। 

बरहथवा-११ मा रहेको हीरापुरको श्री जनता माध्यमिक विद्यालयमा शिक्षकले सेतोपाटीमा प्रश्नको उत्तर लेखाएका मात्र छैनन्, विद्यार्थीहरूको हातहातमा मोबाइल पनि राख्न दिइएको पाइएको छ। 

गएको शुक्रबार लेखा विषयको परीक्षाका दिन त्यहाँ पुग्दा एकै बेन्चमा ४ जनासम्म परीक्षार्थीहरूलाई राखिएको भेटिएको थियो। उनीहरूले एकअर्कासँग उत्तरपुस्तिका साटेर लेखिरहेका थिए भने शिक्षकले अगाडि लेखिदिएको प्रश्नको उत्तर सार्न विद्यार्थीहरू भ्याइनभ्याईमा देखिन्थेँ। 

उक्त दिन विद्यालयमा नगरपालिका शिक्षाशाखाबाट अनुगमन भए पनि अवस्था ठीक भएको भनी टोली फर्किएको थियो।

स्थानीय पत्रकार सरोज कुशवाहका अनुसार अनगुगमनमा गएका टोलीको अगाडि भने विद्यालयले अवस्था ठीकठाक राखेर परीक्षा सञ्चालन भएको दखाएको थियो। 

‘तर उनीहरू फर्किएपछि पुनः अमर्यादित तवरले चिट चोराउँछन्, म स्वयं पनि परीक्षा सञ्चालन भइरहेको समयमा त्यहाँ पुगेको थिएँ। विद्यार्थीहरू हातहातमा मोबाइल लिएर शिक्षकले अगाडि लेखिदिएको उत्तर सार्न भ्याइनभ्याईमा देखिन्थे,’ उनले भने। 

विद्यालयले भने शिक्षक संख्या कम भएको र शैक्षिक क्यालेण्डरअनुसार पढाइ पूरा हुन नसकेकाले परीक्षार्थीलाई सहजीकरण मात्र गरिदिएको बताएको छ। तर कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा १४ जना शिक्षक कार्यरत छन्। 

यस विषयमा बरहथवा नगरपालिका उपमेयर रामबाबु प्रसाद साहले भने आफूलाई जानकारी नभएको बताए। नगरपालिका शिक्षा शाखा प्रमुख अनिल कुमार साहले भने काठमाडौँ भएकाले जानकारी नभएको बताए। 

यता विद्यालयका प्रधानाध्यापक प्रमोद साहले भने त्यस दिन विद्यालयमा अन्य पनि तीन चार वटा कार्यक्रम भएकाले भ्याइनभ्याइ हुँदा शिक्षकहरूले बदनियत राखेर गलत काम गरेको स्विकार गरेका छन्। 

'काठमाडौँबाट पनि कार्यक्रम आएको थियो, अब तीन चार वटा कार्यक्रम एकै पटक जुध्यो, परीक्षा रोक्ने पनि त काम गर्नु भएन नि। त्यसैले यही बेलामा शिक्षकहरूले परीक्षाको अन्तिमतिर यस्तो काम गरेछन् हेर्नु न, अब यस्तै भइहाल्यो,' उनले लाचारी व्यक्त गरे। 

परीक्षालाई अमर्यादित बनाउने शिक्षकहरूलाई भने विद्यालयले आन्तरिक रूपले कारबाही गर्ने उनले बताए। 

भिडियोः सरोज कुशवाह/बरहथवा

२२ जेठ, २०८०, १०:३८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।