आइतबार स्थगित संसद् बैठक आज बस्दै, प्रतिपक्षी दलको अवरोध हट्ला?

आइतबार स्थगित संसद् बैठक आज बस्दै, प्रतिपक्षी दलको अवरोध हट्ला?

काठमाडौं : प्रमुख प्रतिपक्षी तीन दलको अवरोधपछि आइतबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज (सोमबार)को लागि बोलाइएको छ।

एमाले, राप्रपा र रास्वपाको अवरोध गरेपछि सभामुखले संसद बैठक स्थगित गरी आज बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ।

आइतबारको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका क्रममा भएका सहमति र नागरिकता विधेयक प्रमाणीकरणको विरोध जनाएका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले बैठक सुरुमा एक घण्टाका लागि स्थगित गरेका थिए। 

प्रतिपक्षी दलहरू आफ्नो अडानबाट नहटेपछि पूर्व निर्धारित कार्यसूचीअनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल नै भएन। 

मुख्यतः एमालेले नागरिकता विधेयक राष्ट्र हित विपरीत भएको भन्दै संसद बैठक अगाडि बढ्न नदिने भन्दै विरोध गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयको विरोधमा एमालेलाई राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि साथ दिएका थिए।

हिजो नै नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ। यो आदेशपछि भने आज संसद्मा अवरोध नहुने अनुमान गरिएको छ।

तर उता प्रचण्डले भारत भ्रमणमा यदि भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरा नदिने हो भने नेपाललाई बंगलादेशको बन्दरगाहसम्म पुग्ने जमिन दिनुपर्ने बताएका थिए।

यस विषयमा प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने एमाले प्रमुख सचेतक पदम गिरीले बताएका छन्।

यीनै विषयका कारण हिजो विपक्षी दलहरूले राष्ट्रिय सभा बैठक पनि अवरोध गरेका थिए। राष्ट्रिय सभा पनि आज १ बजेका लागि बोलाइएको छ।

जेठ २२, २०८० सोमबार ०७:५४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।