पाल्पा जीप दुर्घटना : मृत्तकको संख्या चार पुग्यो, पाँच जनाको अवस्था गम्भीर

पाल्पा जीप दुर्घटना : मृत्तकको संख्या चार पुग्यो, पाँच जनाको अवस्था गम्भीर
तस्बिर : तिलोत्तमा खबर

पाल्पा : पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृत्तकको संख्या चार पुगेको छ।

आइतबार साँझ भएको दुर्घटनामा ज्यान गुमाएका सबैको पहिचान खुलेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन् ।
       
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटना भएको हो। जीप सडकदेखि करिब ७० मिटर तल खसेको थियो।

दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
       
मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पणेना बस्ने जीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन्।

संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। 
       
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जेठ २२, २०८० सोमबार ०७:२५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।