सुन चोरी आरोपमा पक्राउ परेका व्यवसायीलाई प्रहरीले छाड्यो

सुन चोरी आरोपमा पक्राउ परेका व्यवसायीलाई प्रहरीले छाड्यो

दाङः सुन चोरेको आरोपमा पक्राउ परेका घोराहीका सुनचाँदी व्यवसायीलाई प्रहरीले मध्यराति छाडेको छ।

घोराही निमाहल रोड नजिकै रहेको सन्तोष सुनचाँदी पसलका सञ्चालक खड्ग श्रीपाइलीलाई प्रहरीले चोरीको सुन किनेको आरोपमा पक्राउ गरेको थियो। 

चोरीको सुन किन्ने आरोपी व्यवसायीलाई मुद्दा चलाउनुको साटो जिल्ला प्रहरी कार्यालय दाङले मध्यरातमा हिजो हिरासतबाटै छाडिदिएको हो। 

स्रोतका अनुसार प्रहरीले १० लाखबाट बार्गेनिङ गर्न सुरु गरेर अन्तिममा ५ लाख रुपैयाँ लिएर मुद्दा नचलाउने सर्तमा श्रीपाइलीलाई छाडेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले मुद्दा मिलाउन सहजीकरण गरेको आरोप लागेको छ।

डीएसपी गौतमलाई जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले संरक्षण गर्दै आइरहेका छन्। डीएसपी गौतमलाई मुद्दामा सहजीकरण गर्न लगाएर एसपी वलीले पीडितहरूबाट पैसा उठाउने गरेको स्रोतको दाबी छ।

यसअघि पनि स्कुटर चोरीको आरोपमा पक्राउ परेकालाई पनि डीएसपी गौतमले मिलेमतोमा छाडेका थिए। चोरीका सुन किनेको आरोपमा पक्राउ परेका व्यवसायी छुटेलगत्तै डीएसपी गौतम बिदा बसेका छन्।

जेठ २१, २०८० आइतबार २१:४५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।