संसद्मा आजदेखि बजेटमाथि छलफल, प्रधानमन्त्रीसँग जवाफ माग्ने तयारीमा एमाले

संसद्मा आजदेखि बजेटमाथि छलफल, प्रधानमन्त्रीसँग जवाफ माग्ने तयारीमा एमाले

काठमाडौं : प्रतिनिधिसभा बैठकमा आज (आइतबार)देखि सरकारले प्रस्तुत गरेको वार्षिक बजेटमाथि छलफल सुरु हुँदैछ। छलफलका लागि संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेको लागि संसद् बैठक बोलाइएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते संसदमा बजेट पेस गरेपछि बस्न लागेको प्रतिनिधिसभाको यो पहिलो बैठक हो। 

आजको बैठकमा महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसपछि बजेट माथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा आज प्रमुख प्रतिपक्षी दल एमालेले भने प्रधानमन्त्री प्रचण्डको जवाफ माग्ने तयारीमा छ। प्रचण्डले भारत भ्रमणका बेला दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसदमा जवाफ माग्ने तयारी गरेको हो।

प्रचण्डले यदि भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरा नदिने हो भने नेपाललाई बंगलादेशको बन्दरगाहसम्म पुग्ने जमिन दिनुपर्ने बताएका थिए।

बंगलादेशसम्म पुग्ने बाटो दिने सर्तमा​​​​​​​ लिपुलेक, लिम्पियाधुरा र कालपानीसहितको नेपाली भू-भाग दिन सकिने अभिव्यक्तिको जवाफ माग्ने तयारी एमालेको छ।

त्यस्तै एमालेले टीकापुर घटनामा दोषी रेशम चौधरीको जन्मकैदको फैसलामा दिइएको आममाफीबारे पनि जवाफ माग्ने बताइएको छ।

जेठ २१, २०८० आइतबार ०८:१०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।