अनुदानको युरिया मल निजी एग्रोभेटलाई बेचेपछि...

अनुदानको युरिया मल निजी एग्रोभेटलाई बेचेपछि...

पाल्पाः सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको रासायनिक (युरिया) मल प्रहरीले फेला पारेको छ।

पाल्पा रामपुर नगरपालिका-७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर मल फिर्ता गरेको छ।

सहकारीले स्याङ्जाको वालिङ भकुण्डेस्थित गरिमा एग्रोलाई बिक्री गरी गाडीमा मल लैजाँदै गर्दा प्रहरीले फेला पारेको हो।

वडा प्रहरी कार्यालय वालिङले बिहीबार राति मल फेला पारेर नियन्त्रणमा लिएको हो। सो मल शुक्रबार साँझ करिब ६ बजेको समयमा रामपुर नगरपालिकालाई प्रहरीले बुझाएको छ। 

सहकारीबाट ४० बोरा मल किनेर निजी एग्रोभेटले लगेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको मल लिएर रामपुर नगरपालिकालाई बुझाएको नगरपालिकाका सूचना अधिकारी रामहरी पाण्डेयले बताए। 

'सेयर सदस्य र वडावासीलाई मात्रै उपलब्ध गराउने मल हो, नियमविपरीत फरक जिल्लामा मल बिक्री भएको पाइएको छ, यस विषयमा सहकारीसँग लिखित स्पष्टीकरण माग्नेछौँ, नगर उपप्रमुखको संयोजकत्वमा स्थानीय मल व्यवस्थापन समितिले छानबिन गर्नेछ” उनले भने। 

उपप्रमुख संयोजक रहेको समिति सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखा प्रमुखसहित तीन सदस्यीय समिति रहनेछ। अनुदानको मल व्यवस्थापन निर्देशिका, २०७७ अनुसार स्थानीय तहमा मल वितरण समिति रहन्छ। समितिको बैठक बसेर यसबारेमा छानबिन गरिने सूचना अधिकारी पाण्डेयले जानकारी दिए। 

रामपुर नगरपालिकाभित्र जेठ लागेपछि हालसम्म एक हजार एक सय बोरा अनुदानको मल प्राप्त भएको छ। सहकारीले वालिङ भकुण्डेस्थित गरिमा एग्रोलाई प्रतिबोरा एक हजार ५० का दरले बिक्री गरेको जनाएको छ।

बाहिरी जिल्लाको एग्रोभेटमा मल कसरी कोमार्फत बिक्री भयो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको हराभरा कृषि सहकारी संस्थाका अध्यक्ष गीतादेवी भट्टराईले बताइन्। 

सहकारीले रामपुर–७ स्थित बहखोलामा रहेको पसलबाट बिहीबार राति ९ बजेपछि मल बिक्री गरेको बुझिएको छ।

रामपुर नगरपालिकाभित्रका १० वटै वडामा सरकारले उपलब्ध गराएको अनुदानको मल बिक्री गर्ने आधिकारिक सहकारी, सङ्घ संस्था रहेका छन्।

सोही संस्थामार्फत मात्रै वडाभित्रका किसानलाई मल उपलब्ध गराइएको छ।

जेठ २०, २०८० शनिबार २१:०४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।