राजनीति र कर्मचारीतन्त्रमा शुद्धीकरणबाट मात्रै सुशासन सम्भव : मन्त्री मोदी

राजनीति र कर्मचारीतन्त्रमा शुद्धीकरणबाट मात्रै सुशासन सम्भव : मन्त्री मोदी

सुनसरी : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राजनीति र कर्मचारीतन्त्रभित्रको शुद्धीकरणबाट मात्रै सुशासन सम्भव रहेको बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा इटहरीमा आयोजना गरेको कर्मचारीहरूको लागि प्रदेश स्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।

उनले भने, ‘कहीँ न कहीँ शुद्धीकरण चाहिन्छ। एउटा राजनीतिक तहमा र अर्को कर्मचारीतन्त्रभित्र पनि शुद्धीकरणको आवश्यकता छ। दुवैतिर जबसम्म शुद्धीकरण हुन सक्दैन, तबसम्म सुशासन सम्भव छैन।’

मन्त्री मोदीले सबैको कार्यशैलीलाई सुधार गर्दै सुशासनको यात्रामा अगाडि बढ्नुपर्ने बताए।

उनले थपे, ‘हाम्रो व्यवहार र शैलीमा शुद्धीकरण नभएसम्म देशका सबै क्षेत्रका जनताले सहज रुपमा सेवा पाउने र सुशासन कायम गर्ने कुरा सम्भव छैन।’

उनले अहिलेको व्यवस्थालाई सक्षम र बलियो बनाउनका लागि राजनीतिक र प्रशासनिक दुवै क्षेत्र एकाकर भएर अघि बढ्नुपर्ने पनि बताए।

उनले आफूले सम्हालेको मन्त्रालयमा पहिल्यैदेखि आर्थिक लेनदेनको हल्ला चल्ने गरेको बताउँदै आफू आएपछि त्यसको अन्त्यका लागि निर्क्यौल भएका बिचौलिया र दलाललाई मन्त्रालय प्रवेशमा निषेध गरेको समेत बताए।

प्रशासन क्षेत्रको व्यापक सुधारका लागि अब दण्ड र पुरस्कारको पनि विधि स्थापित गर्न खोजिरहेको समेत उनको भनाइ छ।

जेठ २०, २०८० शनिबार २०:३३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।