मानव र प्राणी जगतको भविष्यका लागि हिमाल संरक्षण आवश्यक : राष्ट्रपति पौडेल

मानव र प्राणी जगतको भविष्यका लागि हिमाल संरक्षण आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणी जगतको भविष्य सुरक्षित गर्न हिमाल र हिमाली क्षेत्रको संरक्षणको आवश्यकता रहेको बताएका छन्।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७०औं वर्ष पुगेको सन्दर्भमा पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित हिमालयन ट्रस्ट युकेका पदाधिकारीसँग शनिबार शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले यस्तो बताएका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारेको असर न्यूनीकरण गरी पृथ्वी र सम्पूर्ण मानवजातिको हितको लागि हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण आवश्यक रहेको बताए।

‘विश्वको वातावरणको संरक्षण हिमालबाट सुरु गर्नुपर्छ, किनकी पानीको मूल स्रोत हिमाल हो’, उनले भने।

नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि हिमाली क्षेत्र र वातावरण संरक्षणमा जोड दिएको उनले बताए।

सगरमाथा र यस क्षेत्रको जैविक विविधताको संरक्षणको लागि विश्व समुदायले नै काँधमा काँध मिलाएर हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

जेठ २०, २०८० शनिबार १७:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।