गगनलाई देउवाको जवाफ- गाली गरेर पार्टी ठूलो बन्दैन, काम गर्नूस्

गगनलाई देउवाको जवाफ- गाली गरेर पार्टी ठूलो बन्दैन, काम गर्नूस्

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्।

शनिबार कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

‘गाली गरेर कहाँ पार्टी बन्छ। लडाई गर्ने हो? अफ्ठ्यारोमा गयो भने के गर्ने। अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ,’ सभापति देउवाले भने, ‘अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन। एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन। सबै एक भएर गए पार्टी बलियो हुन्छ।’

शुक्रबार महामन्त्री गगन थापाले सभापतिको एकल निर्णयका कारण पार्टीप्रति जनताको आकर्षण घट्दै गइरहेको बताएका थिए। उनले पछिल्लो समय भएका विवादित गतिविधि सभापतिको एकल निर्णय भएको दाबी गरेका थिए।

यता देउवाले शनिबार भने पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पार्दै पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताए।

‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ। सत्य कुरा हो। अहिले सबै ठाउँमा नेविसंघले जितेको छ,’ सभापति देउवाले भने, ‘यो पनि सत्य कुरा हो। सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ। अब यसलाई अघि बढाउनुछ।’

जेठ २०, २०८० शनिबार १६:३०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।