मलेसियासँग ४ विकेटले हार्‍यो नेपाल, सिरिज २–२ को बराबरीमा

मलेसियासँग ४ विकेटले हार्‍यो नेपाल, सिरिज २–२ को बराबरीमा

काठमाडौं : नेपाल महिला टी-२० सिरिजको चौथो खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ।

अन्तिम बलमा लक्ष्य पुरा गर्दै मलेसियाको यो जितसँगै पाँच खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ।

खेलमा नेपालले दिएको ९७ रनको विजयी लक्ष्य मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। मलेसियाको जितमा ओपनर विनीफ्रेडले ५२ बलमा सर्वाधिक ३८ रन जोडिन्।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनायो।

घरेलु टोली मलेसियाविरुद्ध नेपालको लागि इन्दु बर्माले ३१ बलमा ३ चौकासहित सर्वाधिक ३२ रनको योगदान दिइन्। त्यसैगरी विन्दु रावलले २४ रन जोडिन्।

कुनै समय ११ औं ओभरमा नेपालले मात्र ३३ रनमा ५ विकेट गुमाइसकेको थियो। तर विन्दु रावल र इन्दु बर्माले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गर्दै नेपालको इनिङलाई बचाएका थिए।

यो खेलमा पराजित भएपछि नेपालले अन्ति खेल अगावै सिरिजको उपाधिमा कब्जा गर्ने मौका गुमायो। अब पाँचौं तथा निर्णायक खेल आइतबार हुनेछ।

नेपालले सिरिजको पहिलो खेल ५ विकेटले हारेको थियो भने क्रमशः दोस्रो खेल ७ विकेट र तेस्रो खेल २७ रनले जितेको थियो।

जेठ २०, २०८० शनिबार १२:४४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।