भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज नेपाल फर्किंदै

भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज नेपाल फर्किंदै

काठमाडौं : चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्क‌ंदैछन्।

नेपाल एयरलाइन्सको अपराह्न ४ बजेको दिल्ली - काठमाडौं उडानबाट उनीसहितको नेपाली टोली स्वदेश फर्कन लागेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेठ १७ गते भारत पुगेका थिए।

यस भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, उर्जा, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीहरुसँगै सचिवहरु तथा उद्योगी, व्यवसायीहरूको सहभागिता रहेको थियो।

भारत भ्रमणका दौरान प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका थिए। यस भ्रमणका क्रममा नेपाल भारतबीच केही द्विपक्षीय सम्झौताहरू पनि भए।

भ्रमणको दोस्रो दिन दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। सोही दिन नेपाल–भारतका बीचमा प्रमुख सहमतिहरु भएको थियो।

जस अनुसार नेपाल भारत पारवहन सम्झौता नवीकरण, तल्लो अरुणको पीडिए गर्ने र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने सहमति भएको थियो।

त्यस्तै क्रस बोर्डर पेमेन्ट सम्झौता र फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा पनि सम्झौता भएको थियो।

त्यसैगरी अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास तथा सिलीगुड़ी झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी भएको थियो।

उता भारतको बथनाहाबाट विराटनगरसम्मको कार्गो रेल सेवाको उद्घाटनसँगै नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको पनि उद्घाटन गरिएको थियो।

त्यसैगरी दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारीसँगै सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास भएको थियो।

यसपछि भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत सीमा विवादको समस्या समाधान गर्ने बताएका थिए।

जेठ २०, २०८० शनिबार ०७:३६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।