विद्यार्थीलाई दिवा खाजाः फापर र कोदोको रोटी

विद्यार्थीलाई दिवा खाजाः फापर र कोदोको रोटी

चितवनः चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ।

स्थानीय रैथाने बाली प्रवर्द्धन गर्न नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो।

पहिलो चरणमा यस वर्ष कालिका वडा नं१० स्थित उक्त विद्यालयका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाइएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए।

उनका अनुसार यस विद्यालयका विद्यार्थीलाई असारसम्म फापर र कोदोको रोटी खुवाइनेछ।

यस वर्ष परीक्षणस्वरुप एउटा विद्यालयबाट कार्यक्रम सुरुवात गरेका छौँ, नगरप्रमुख रेग्मीले भने, 'यसको प्रभावकारिताका आधारमा आगामी वर्ष अन्य विद्यालयमा पनि यो कार्यक्रम लागु गर्छौं। पालिकाले कृषि शाखाको रैथाने बाली प्रवर्द्धन कार्यक्रममार्फत यस वर्ष एक लाख बजेट विनियोजन गरिएको छ भने  यस विद्यालयमा सरकारले दिने नियमित खाजा पनि छ”, आगामी वर्षदेखि विद्यार्थीलाई फापर र कोदोसँगै गिठ्ठा भ्याकुर, तरुल र पिFडालु पनि खुवाउने उनले बताए। 

विद्यालयका प्राचार्य जीतबहादुर भट्टराईले रैथाने बालीको प्राङ्गारिक हुने भएकाले यसैलाई जोड दिइएको बताए।

रैथाने बालीहरू लोप हुँदै गइरहेको अवस्थामा विद्यालयस्तरमा यस्ता खाजा खुवाउँदा पछिल्लो पुस्तालाई रैथाने बालीका बारेमा राम्रोसँग जानकारी हुने उनको भनाइ थियो।

विद्यालयमा अधिकांश चेपाङ र जनजाति समुदायका बालबालिका अध्ययनरत छन्। कक्षा पाँचसम्ममा एक सय ६४ विद्यार्थीलाई खाजा नियमित खुवाइएको  र खाजाकै कारण विद्यार्थीको सङ्ख्यासमेत बढेको छ।

१९ जेठ, २०८०, १३:३८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।