बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित ३ जना भ्रष्टाचार मुद्दामा जेल चलान

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित ३ जना भ्रष्टाचार मुद्दामा जेल चलान

काठमाडौँः विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित तीन जनालाई भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ।

बलभद्रप्रसाद दास, अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई जनही १/१ वर्ष कैद र २५-२५ हजार रुपैयाँ जरिवाना भराउने फैसला भएको हो।

दास प्रतिष्ठानका तत्कालीन उपकुलपति हुन् भने सिन्हा अस्पतालका निर्देशक तथा थापा रजिस्ट्रारका रूपमा कार्यरत थिए।

बिहीबार विशेषका सदस्यद्वय बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले यस मुद्दामा फैसला गरेको हो। ८ प्रतिवादीमध्ये तीन जनालाई सजाय सुनाएको हो। 

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० असार २०७६ मा मुद्दा दायर गरेको थियो। 

उनीहरू तीन जनाका साथै प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवलाई अख्तियारले प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो। साथै, दुई व्यवसायी चेतन अग्रवाल र उमेश अग्रवाललाई समेत प्रतिवादी कायम गरिएको थियो।

प्रतिष्ठानबाट विभिन्न मितिमा भएको वस्तु तथा सेवा खरिदमा भ्रष्टाचार भएको अख्तियारको आरोप थियो। 

जेठ १९, २०८० शुक्रबार ०७:०७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।