राजश्व चुहावटमा चूडामणि सहित तीन जना दोषी, सजाय निर्धारण जेठ २५ मा

राजश्व चुहावटमा चूडामणि सहित तीन जना दोषी, सजाय निर्धारण जेठ २५ मा

काठमाडौँ : विशेष अदालतले राजस्व चुहावट सम्बन्धी मुद्दामा सहसचिव चूडामणि शर्मा सहित तीन जनालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले बिहीबार शर्मा सहित तीन जनालाई दोषी ठहर गरेको हो।

शर्मासहित तीन जना विरुद्ध कर फर्स्योट आयोग मार्फत व्यापारीलाई कर छूट दिएर भ्रष्टाचार गरेको अदालतको ठहर छ।

२०७१ सालमा सरकारले कर फर्स्योट गर्न आयोग गठन गरेको थियो। सोही आयोगमा खेलेर उनले भ्रष्टाचार गरेको आरोप थियो।

आयोगमा शर्मा सहित चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत संयोजक थिए भने उमेश ढकाल सदस्य थिए। त्यस्तै, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा आयोगका सदस्य सचिव थिए।

आयोगका पदाधिकारीले राजस्व चुहावट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साउन १ गते दर्ता भएको मुद्दामा बिहीबार फैसला आएको हो।

अदालतले आयोगका सदस्य सचिव शर्मा सहित अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई समेत दोषी ठहर गरेको छ। सजाय भने निर्धारण भएको छैन।   जेठ २५ को पेशीले तीनै जनाको सजाय निर्धारण गर्नेछ।

जेठ १८, २०८० बिहीबार २३:५४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।