अब कांग्रेसमा जम्मा दुई गुट हुन्छ : महामन्त्री थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पुनर्संरचनाका लागि सबै गुटहरूलाई भत्काउनुपर्ने बताएका हुन्। साथै उनले भविष्यप्रति आशा देखाए पार्टी प्रवेशको क्रम बढ्नेसमेत बताए।
उनले भने, ‘पार्टीले भविष्यप्रति आशावादी बनायो भने मान्छे आउँछ। कांग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ।’
थापाले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरूबीच दुई गुट मात्रै बनाउनुपर्ने ‘दाइहरू’को साथ छोड्न आग्रह गरे।
‘कांग्रेस सुधार्ने हो भने गुट सबै भत्काउनुपर्छ। जम्मा दुईवटा गुट अब। एउटा परिवर्तन चाहने गुट अर्को परिवर्तन रोक्ने गुट’, थापाले भने, ‘यो दाई, त्यो दाई सबै छोडिदिनुहोस्। हिजो को दाईसँग को लाग्यो सब बिर्सौं अब।’
जेठ १८, २०८० बिहीबार १७:२०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।