प्रचण्डलाई एचआईटी सूत्र सम्झाउँदै मोदीले भने- ‘हाम्रो विकासमा सीमा बाधक नबनोस्'

प्रचण्डलाई एचआईटी सूत्र सम्झाउँदै मोदीले भने- ‘हाम्रो विकासमा सीमा बाधक नबनोस्'

नयाँ दिल्ली : नेपाल र भारतबीच प्रस्तावित रामायण सर्किटको कामलाई तीव्रता दिइने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

भारत पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री मोदीबीच भएको भेटवार्तापछि यस्तो निर्णय भएको हो। कुराकानीपछि मोदीले भने, 'दुई देशबीचको रामायण सर्किटको काम छिट्टै पूरा हुनेछ। नेपाल-भारत साझेदारीलाई हिटबाट सुपरहिट बनाउन मैले र प्रचण्डले धेरै महत्वपूर्ण निर्णय लिएका छौं।'

यसबाहेक दुवै नेताबीच नेपाल र भारतबीचको छिमेकी पहिलो नीतिबारे पनि छलफल भएको थियो। सो क्रममा जलविद्युत् विकास, कृषि र कनेक्टिभिटीजस्ता विषयमा छलफल भएको थियो।  

पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सीमा विवादबारे मोदीजीसँग मेरो छलफल भएको थियो। यो विषय द्विपक्षीय वार्ताबाटै समाधान गर्न म उहाँहरूलाई आग्रह गर्दछु। सोही क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्ता पनि दिए। दुई नेताबीच हैदराबाद हाउसमा भेटवार्ता भएको थियो। 

नेपालमा नयाँ रेलमार्ग सुरु हुने

मोदीले भने, 'मैले सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएको तीन महिनाभित्र नेपाल भ्रमण गरेको थिएँ। त्यसपछि मैले एचआईटी (HIT) सूत्र दिएको थिएँ। यसमा राजमार्ग, आई-वे र ट्रान्स-वे समावेश छन्। दुई देशको सम्बन्धमा हाम्रो सिमाना बाधक नबनोस् भनेर मैले भनेको थिएँ। आज म भन्न सक्छु कि हाम्रो सम्बन्ध हिट छ। नेपाली जनताका लागि नयाँ रेलमार्ग सञ्चालनमा ल्याइनेछ। यसका साथै त्यहाँ रेलवे कामदारहरूलाई प्रशिक्षण पनि दिइनेछ।'

उक्त क्रममा मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत भारत ल्याउने पनि बताए। 

प्रधानमन्त्री प्रचण्डले भने, 'म चौथो पटक भारत भ्रमणमा आएको छु। म प्रधानमन्त्री मोदीलाई भारतमा सत्ताको ९ वर्ष पूरा गरेकोमा बधाई दिन्छु। उनको नेतृत्वमा भारतमा अर्थतन्त्रलगायत सबै क्षेत्रमा द्रुत विकास भएको छ। नेपाल र भारतबीच सम्बन्धलाई अगाडि बढाउन आज धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ।'

मोदीले नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्ने पनि बताएका छन्। उनले दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्ने बताएका हुन्। मोदीले भने, ‘हामी आफ्नो सम्बन्धको हिमालयजत्तिकै उचाइ दिन काम गरिरहन्छौं । यो यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरू विषय सबैको समाधान गर्छौं।’ 

नेपाल र भारतबीच आज भएको द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा केही सम्झौता भएका छन्। 

जसअनुसार नेपाल भारत पारवहन सम्झौता नवीकरण, तल्लो अरुणको पीडीए गर्ने र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्युटबीच सहकार्य गर्ने सहमति भएको छ।

त्यस्तै क्रस बोर्डर पेमेन्ट सम्झौता र फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्टमा पनि सम्झौता भएको छ।

त्यसैगरी अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन शिलान्यास तथा सिलीगुड़ी झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारी भएको छ। 

उता भारतको बथनाहाबाट विराटनगरसम्मको कार्गो रेल सेवाको उद्घाटनसँगै नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको पनि उद्घाटन गरिएको छ। 

त्यसैगरी दोधारा चाँदनी इन्टिग्रेटेड चेक पोस्ट निर्माणको समझदारीसँगै सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास भएको छ। 

यसअघि बिहीबार प्रधानमन्त्री प्रचण्डले भारतको राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। प्रचण्डले दिउँसो राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग पनि भेट गर्नेछन्। प्रचण्ड बुधबार दिउँसो ३ बजे भारत पुगेका थिए। 

उनलाई भारतका संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्। प्रचण्डले नयाँ दिल्लीमा हुने नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नेछन्। उनले भारतमा रहेका नेपाली समुदायसँग पनि भेट गर्ने कार्यक्रम छ।

१८ जेठ, २०८०, १५:३३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।