सातै प्रदेशमा गोताखोर राख्न सशस्त्रका आईजीपी अर्यालको प्रस्ताव, गृहमन्त्री सकारात्मक

सातै प्रदेशमा गोताखोर राख्न सशस्त्रका आईजीपी अर्यालको प्रस्ताव, गृहमन्त्री सकारात्मक

चितवन : सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले सातै प्रदेशमा विपद् व्यवस्थापन टोली राख्न प्रस्ताव गरेका छन्।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष उनले पानीजन्य विपद्मा तत्काल परिचालित हुनसक्ने गरि सातै प्रदेशमा टोली राख्न प्रस्ताव गरेका हुन्।

चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तेस्रो टोलीको तालिमको समापन कार्यक्रममा उनले पानीजन्य विपद्का लागि ७४ जनाको गोताखोरको जनशक्ति रहेको जानकारी दिँदै प्रदेश सरकारसँगको समन्वयमा सबै प्रदेशमा टोली राख्न सके विपद्मा तत्काल परिचालन हुन सहज हुने र जनधनको क्षति कम हुने बताए।

‘सबै प्रदेशमा टोली राख्न सक्ने हो भने तत्काल परिचालन भई खोजी तथा उद्दारमा सहज हुने थियो,’ उनले भने ‘यसका लागि मैले मन्त्रीज्यू लगायत मन्त्रालयमा रहनु भएका सबैको रचनात्मक सहयोगको अपेक्षा गरेको छु।’

उनले अहिले सशस्त्रले पानीजन्य उद्दारको तालिम केन्द्र सन्चालन गरे जस्तै आगामी दिनमा आगलागीमा उद्दार र खोजी सम्बन्धी तालिम केन्द्र सन्चालन गर्ने लक्ष्य रहेको र त्यसमा मन्त्रालयबाट सहयोग हुने आशा व्यक्त गरे।

नेपालमा आफ्नै गोताखोर

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल जस्तो जल उत्पन्न जोखिम भएको देशमा आफ्नै गोताखोर जनशक्ति उत्पादन गरेर सशस्त्र प्रहरी बलले गौरवपूर्ण काम गरेको बताए।

‘यो तालिम ठूलो योगदानको रुपमा अंकित हुनेछ,’ ‘प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘जनताको सेवा गर्न सीपसहित आफूलाई तयार गर्नु सामान्य र सजिलो योगदान होइन।’

उनले विपद् नियन्त्रणमा सरकारको तर्फबाट साधन स्रोत सम्पन्न बनाउन भरमग्दुर प्रयास भइरहेको बताएका थिए। आफ्नो ज्यान जोखिममा पारेर उद्दारमा खटिने जनशक्तिको सुविधा बढाउन मन्त्रालय सकारात्मक रहेको उनले बताए।

प्रहरी जवान गणेश उत्कृष्ट 

गण्डकी प्रदेश सरकार समेतको सहयोगमा २० जनाका लागि पाँच हप्तासम्म भएको सैद्धान्तिक एवं प्रयोगात्मक तालिममा सशस्त्रका जवान गणेशबहादुर थापा उत्कृष्ट भए। आफ्नै आवश्यकताका आधारमा, सीपयुक्त गोताखोर उत्पादन गर्ने योजना अन्तर्गत नेपालमा भएको यो तेस्रो तालिम हो। 

नेपालमै तालिम हुनुअघि बंगलादेशमा तालिम भएको थियो। तर सामुन्द्रीक जल उत्पन्न प्रकोप बढी हुने बंगलादेशमा त्यही आधारको तालिम हुने गर्दथ्यो।

नेपालमा भने बेगले बग्ने, चिसो बग्ने, बाढी आउने जस्ता जल उत्पन्न जोखिमलाई यहीँको आवश्यकता आधारको तालिम जरुरी थियो। यो तालिमको अभ्यास त्रिशुली लगायतका नदी र फेवातालमा भएको थियो।

जेठ १८, २०८० बिहीबार १४:१३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।